पार्टी एकता जनअनुमोदित भइसक्यो- माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

काठमाडौं, १ पुस – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रिया जनअनुमोदित भएको बताएका छन् ।

काठमाडौ क्षेत्र नम्बर ५ संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन कमिटीले शनिबार गरेको चियापान समारोहमा प्रचण्डले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा वामगठबन्धनले ऐतिहासिक सफलता प्राप्त गरेको भन्दै टुट्न नदिने प्रतिवद्धता जनाए ।

निर्वाचनमा वामगठबन्धनले प्राप्त गरेको ऐतिहासिक सफलताले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गरी विकासको नयाँ युगतर्फ लैजाने उनले विश्वास व्यक्त गरे । उनले नेपाल राष्ट्रको स्थायीत्व र सुशासन कायम गर्ने दृष्टिले वामगठबन्धनको सफलता ऐतिहासिक कोशेढुंगा भएको पनि उल्लेख गरे ।

लामो समयदेखि विभाजनबाट गुज्रिएको कम्युनिष्ट आन्दोलनलाई एक गर्दै मुलुकलाई राजनीतिक स्थायीत्व दिनका लागि गरिएको पार्टी एकता र त्यसले प्राप्त गरेको विजय एमाले र माओवादी केन्द्रको फ्युजन भएको भन्दै त्यसलाई कसैले विर्सन नहुनेमा पनि उनले सचेत गराए ।

निर्वाचनमा प्राप्त गरेको ऐतिहासिक सफलताले नयाँ प्रक्रिया र युगको सुत्रपात गरेको भन्दै उनले समाजवादको नयाँ आधार निर्माण गर्ने अवसर छुट्न नदिने प्रतिवद्धता पनि जाहेर गरे । माओवादी अध्यक्ष प्रचण्डले नयाँ परिवेश र नया जनादेश अनुसार मुलुक अब सम्वृद्धि र सुशासनतर्फ उन्मुख भएको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार