प्रदेश ७ मा मुख्यमन्त्रीका प्रवल दावेदार नै समानुपातिकमा नपरेपछी ?

कैलाली, ३ पुस — प्रदेश नम्बर ७ मा मुख्यमन्त्री को बन्ने भन्ने चर्चा भइरहँदा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीका प्रबल दावेदारका रुपमा देखिएका नेताहरु नै समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा नपर्ने भएका छन् ।

यो प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरी दुई तिहाई बहुमत पाएको बाम गठबन्धनका दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रकै प्रदेश सरकार बन्ने देखिन्छ । तर समानुपातिकबाट महिला प्रतिनिधित्व बढी गराउनु पर्ने भएपछि यी दुवै दलमा मुख्यमन्त्रीका प्रबल दावेदारका रुपमा हेरिएका नेताहरु प्रदेश सभा सदस्य नबन्ने देखिएको छ ।

एमालेबाट पूर्वमन्त्री कर्ण थापा मुख्यमन्त्रीका दावेदार थिए र प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए एमालेभित्र उनी निर्विकल्प मुख्यमन्त्री हुने थिए । निर्वाचनअघि नै प्रदेश नम्बर ७ को भावी मुख्यमन्त्रीका रुपमा चर्चा गरिएको नेता थापालाई एमालेले समानुपातिकतर्फ पहिलो नम्बरमा राखेको थियो । प्रदेश सभा सदस्यमा प्रत्यक्षतर्फका ३२ मध्ये १७ सिट जितेको एमालेले समानुपातिकमा ७ सिट पाएको छ ।

समानुपातिकका सबै सिटमा महिला ल्याउनु पर्ने भएकाले थापा प्रदेशसभा सदस्य नबन्ने देखिएको एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित एक नेताले बताए । संविधानले हरेक दलबाट ३३ प्रतिशत महिला सुनिश्चित गरेको छ । प्रत्यक्षमा एमालेबाट एउटा पनि महिला छैनन् । ३३ प्रतिशत महिला प्रतिनिधित्वका कारण समानुपातिकमा पुरुष पर्ने संभावना नदेखिएको एमाले केन्द्रीय सदस्य महेश्वर पाठकले बताए ।

यस्तै नेकपा माओवादी केन्द्रबाट प्रदेश नम्बर ७ को मुख्यमन्त्रीमा बलियो दावेदार मानिएका माओवादी नेता हरि चौधरी ‘उत्सव’ पनि समानुपातिकतर्फ प्रदेशसभा सदस्य बन्न नपाउने देखिएको सो पार्टीले जनाएको छ । प्रदेश सभातर्फ प्रत्यक्षमा १० सिट जितेको माओवादीले समानुपातिकमा ४ सिट पाएको छ । उनी समानुपातिकमा सिफारिस परेको र माओवादी नेतृत्व र नेता लेखराज भट्टसंगको सम्बन्धका कारण माओवादीले प्रदेश सरकार नेतृत्व गर्ने अवसर पाए चौधरी मुख्यमन्त्री बन्ने संभावना प्रवल थियो ।

माओवादी केन्द्रका सचिवालय सदस्य एवं प्रदेश नम्बर ७ का ईन्चार्ज लेखराज भट्टले समानुपातिकतर्फ सबै महिला पठाउनु पर्ने अवस्था रहेको बताए । प्रदेश सभामा १४ सिट रहेकाले त्यसको ३३ प्रतिशत ४ प्रतिशत भन्दा बढीरहेकाले त्यो भनेको ५ जना भएपनि समानुपातिकमा ४ जना नै महिला पठाउनु पर्ने देखिएको बताए ।

प्रदेशसभामा माओवादीबाट एकजना महिला प्रत्यक्ष निर्वाचित भएका छन् । बझाङबाट निर्वाचित प्रदेश सभा सदस्य देवकी मल्ल प्रदेश सभा सदस्यतर्फ प्रदेश नम्बर ७ बाट प्रत्यक्षमा निर्वाचित एक्ली महिला हुन् । एमालेमा नेता थापा प्राविधिक कारण प्रदेश सभामा जान नसक्ने भएपछि एमालेका दोश्रो पुस्ताका नेताहरु मुख्यमन्त्रीको आकांक्षी देखिएका छन् ।

माओवादीबाट पनि केही नेताहरुका नाम मुख्यमन्त्रीको रुपमा चर्चामा छ । यद्यपि बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याएको यो प्रदेशमा प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा एमाले र माओवादीबीच सहमति हुन बाँकी छ । नेताहरुका अनुसार प्रदेश नम्बर सातमा माओवादी नेतृत्वमा प्रदेश सरकार बन्ने संभावना प्रबल छ । माओवादीले दावी गरेको प्रदेश नम्बर ५ मा एमालेलाई छाडे यहाँ माओवादीले पाउन सक्ने छ । दुवै दलभित्र मुख्यमन्त्रीका आकांक्षीहरु राजनीतिक ‘लविङ्ग’ मा लागेका छन् ।

एमालेमा थापाको संभावना नदेखिएकोले दोस्रो पुस्ताका नेताहरु मुख्यमन्त्रीको दौडमा देखिएका छन् । बाजुराबाट निर्वाचित प्रकाश शाह, कञ्चनपुरबाट समानुपातिक सांसद निरु पाल, निर्वाचित एमाले कञ्चनपुरका अध्यक्ष तारा लामा तामाङ, बझाङका नेता अर्जुन थापा, एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारी, डडेल्धुराका पठानसिंह बोहरा एमालेबाट मुख्यमन्त्रीका रुपमा चर्चामा छन् ।

एमाले केन्द्रीय सदस्य पाठकले एमाले–माओवादीबीच कसको नेतृत्वमा प्रदेश सरकार बन्ने भन्ने टुंगो लागेपछि मुख्यमन्त्री को हुने भन्ने तय गरिने बताए । समानुपातिकको क्लीयर भएपछि मुख्यमन्त्री कुन पार्टीले लिने भन्ने सहमतिकै आधारमा तय गर्ने र त्यसपछि को बन्ने भन्ने कुरा आउने बताए । प्रदेश नम्बर ७ मा माओवादीले पाउन सक्ने संभावना देखिएपछि मुख्यमन्त्रीका आकांक्षी माओवादी नेताहरु पनि पार्टीभित्र लविङ्गमा लागेका छन् ।

माओवादीमा कैलालीबाट प्रत्यक्ष निर्वाचित बीरमान चौधरी, कञ्चनपुरबाट निर्वाचित महेशदत्त जोशी र अछामबाट निर्वाचित झपट बोहराको नाम चर्चामा छ । चौधरी र झपट बोहराको संभावना बलियो रहेको सो पार्टीका एक नेताले बताए । प्रदेशको राजधानी र मुख्यमन्त्रीका विषयमा नेताहरु बीच छलफल भइरहेको मुख्यमन्त्रीका सम्भावित मध्येका एक बीरमान चौधरीले बताए ।

कसको नेतृत्वमा प्रदेश सरकार बन्ने भन्ने एमाले-माओवादीबीच सहमतिका आधारमा तय हुने भन्दै उहाले कुन पार्टीले नेतृत्व गर्ने भन्ने तय भएपछि पार्टीभित्र मुख्यमन्त्री को बन्ने भन्ने छलफल हुने बताए । यही क्षेत्रका एमाले उपाध्यक्ष भीमबहादुर रावल र माओवादी केन्द्रका प्रभावशाली नेता लेखराज भट्टले निर्वाचनको मतपरिणामपछि यस विषयमा अहिलेसम्म सार्वजनिक रुपमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

निर्वाचन जितेपछि केही दिनअघि अत्तरियास्थित आफ्नै निवासमा संचारकर्मीसंग माओवादी नेता भट्टले राजधानी र प्रदेश सरकारका विषयमा नेताहरुसंग छलफलपछि मात्र कुनै निर्णयमा पुग्न सकिने धारणा राखेका थिए । प्रदेश नम्बर ७ मा प्रदेश सभामा एमालेले १७, माओवादी केन्द्रको १०, काँग्रेसले ४ सिट र राजपा १ सिट प्रत्यक्षमा जितेका छन् । यस्तै समानुपातिकतर्फ काँग्रेसले ८, एमालेले ७, माओवादीले ४ र राजपाले २ सिट पाउने छन् । २१ वटा समानुपातिक सदस्य सहित ५३ सदस्यीय हुने प्रदेश सभामा समानुपातिकको समेत जोड्दा यो प्रदेशमा गठबन्धनको पक्षमा दुई तिहाई बहुमत पुग्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार