माओवादीको केन्द्रीय बैठकमा ओलीलाई तीन ओटै पद नदिन नेताहरुको सुझाव

काठमाडौं, ४ मंसिर – पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यालयको बैठकमा बोल्ने नेताहरुले पार्टी एकता हुँदा पदको सम्मानजनक बाँडबाँड तथा सरकार गठन र पार्टी एकता सँगसँगै हुनुपर्नेमा जोड दिएका छन् । चुनावपछि पार्टी एकता गर्नेगरी एमाले र माओवादी केन्द्रले  साझा उम्मेदवार तय गरेका दुई पार्टी  अहिले एकीकरण  र सरकार निर्माणको तयारीमा जुटेका छन् ।

पेरिसडाँडा बैठकको सुरुमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनमत एकताको पक्षमा रहेको भन्दै  त्यसको सदुपयोग गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका  थिए । उनले वाम गठबन्धनका प्रभावशाली नेताहरु  माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र एमाले उपाध्यक्ष वामदेव गौतम पराजित हुनु दुःखद भएको बताएका थिए।  उनले दुबै नेतासहित अरु महत्वपूर्ण नेतालाई कसरी सँगै लैजाने भन्नेबारे गृहकार्य चलिरहेको पनि बताए ।  बैठकमा छोटो मन्तब्य राखेका प्रचण्डले एकताका विषयमा नेताहरुसँग राय मागेका थिए ।

सोलगत्तै आफ्नो धारणा राखेका   नेताहरुले  दुई कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्ने भएपनि पद बाँडफाँड ‘सम्मानजनक’ हुनुपर्नेमा जोड दिएका थिए । बोल्ने अधिकांश नेताहरुले कुनै पनि हालतमा  एकतापछि तीन ओटै पद   केपी ओलीलाई दिन नहुने प्रचण्डलाई सुझाव दिएका थिए ।  ‘नेतृत्वको विषयमा प्रष्ट हुनुपर्छ एमाले अध्यक्ष केपी ओलीले संसदीय दलको नेता, प्रम र  अध्यक्ष पद लिने जुन कुरा बाहिर आएको छ । त्यो कुनै पनि हालतमा स्वीकारै हुदैन् ।

यस्तै उनीहरुले पार्टी एकता र सरकार गठनलाई एकैसाथ अघि बढाउनुपर्नेमा समेत  जोड दिएका थिए । कार्यालय सदस्य उर्मिला अर्याल, मातृका यादव र देव गुरुङले अन्तर्घातका कारण विभिन्न निर्वाचन क्षेत्रमा पार्टी पराजित  हुन पुगेको आरोप लगाएका थिए ।  उनीहरुले छानबिन समिति बनाएर  अन्तर्घात गर्नेलाई कडाभन्दा कडा कारबाही गरिनुपर्नेमा जोड दिएका थिए ।

विषेशगरी गोरखा क्षेत्र नम्बर २ को  चुनावी नतिजालाई लिएर बोलेका केहि नेताले त्यहाँ  नारायणकाजी श्रेष्ठ प्रकाश हार्नुको कारण नै अन्तर्घात भएको दाबी गरेका थिए । यस्तै अर्का सदस्य पर्शुराम तामाङले  बिचार, संगठन र नेतृत्वको विषयमा   पार्टी स्पष्ट हुनुपर्नेमा जोड दिँदै  सरकार बनाइहाल्ने  तर पार्टी एकताचाहिँ पछि गरिए त्यो गम्भीर गल्ती हुने  धारणा राखेका थिए ।

बैठकका चार महत्वपूर्ण रोडम्याप
— स्रोतका अनुसार  बैठकले एमाले र माओवादी केन्द्रबीच बनेको एकता संयोजक समितिको बैठक राखेर एकताबारेका विविध विषयमा टुंगोमा पुग्न पहल गर्ने  रोडम्याप तय गरेको छ  ।

— यसैगरी  राष्ट्रियसभासम्बन्धी विधेयकमा देखिएको विवादलाई हल गर्न कांग्रेससँग छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ । राजनीतिक मुद्दा राजनीतिकतवर बाटै हल गर्नुपर्ने भन्दै बैठकले  आपसी समझदारीबाटै समाधान खोज्ने उद्देश्यले कांग्रेससँग छलफल गर्ने निश्कर्ष निर्णय गरेको हो ।

— यस्तै विधेयकका विषयमा  कानुनविद् सँग पनि छलफल गर्ने पनि माओवादीले रोडम्याप तय गरेको गरेको छ ।

— निर्वाचन आयोगसँग डाटा माग गरेर समानुपातिकको विषय टुंग्याउने पनि माओवादीले जनाएको छ । यी चार रोडम्याप एकसाताभित्रको कार्ययोजना भएको र सोपछि चुनावी समिक्षा  गर्न अर्को बैठक बस्ने बताइएको छ ।

बैठकपछि माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले   सरकार निर्माणर  पार्टी एकताको कुरा सँगसँगै हुनुपर्ने बैठकले निश्कर्ष निकालेको बताइन् ।  ‘सरकार निर्माण र पार्टी एकता सँगसँगै हुनुपर्छ’, उनले भनिन्, ‘सरकार पहिला बनाउने र पार्टी एकता पछि गर्ने भन्ने हुँदैन ।’ बैठकले राष्ट्रिय सभाको निर्वाचन राजनीतिक विषय भएको भन्दै  हाल देखिएको विवाद  राजनीतिक सहमतिको आधारमा हल गरिनुपर्नेमा जोड दिएको पनि उनले बताइन् । बैठकले  सफलता पूर्वक चुनाव सम्पन्न गराएकोमा सरकारलाई धन्यवाद दिँदै वाम गठबन्धनलाई मत दिई अत्याधिक बहुमत दिलाउने जनतालाई पनि धन्यवाद दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार