सरकारको निष्कर्ष: नयाँ सरकार राष्ट्रिय सभा निर्वाचनपछि मात्रै

काठमाडौं, ५ पुस – कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले राष्ट्रिय सभाको निर्वाचन नभएसम्म सरकार नछाड्ने बताएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएलगत्तै वाम गठबन्धनमा आबद्ध एमाले र नेकपा माओवादी केन्द्रले सरकारले सत्ता हस्तान्तरण गर्न नखोजेको आरोप लगाएपछि उसले राष्ट्रिय सभा निर्वाचन नभएसम्म सरकार नछाड्ने बताएको हो ।

सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मंगलबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन नै गरेर राष्ट्रिय सभा निर्वाचन नभई वर्तमान सरकारले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न नसक्ने बताए । ‘संघ र प्रदेशको संवैधानिक संरचनामा प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रिय सभाले पूर्णाकार लिएपछि मात्र मुलुकले कल्पेका समावेशी चरित्रका तीन तह (स्थानीय, प्रादेशिक र संघीय) सरकारहरू निर्माण हुने प्रावधान भएकाले राष्ट्रिय सभा निर्वाचनपछि मात्रै नयाँ सरकार गठन हुन सक्छ,’ उनले भने ।

उनले नयाँ सरकार गठनका लागि निर्वाचन आयोगबाट प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट र समानुपातिकतर्फका सांसद यकिन हुनुपर्ने तथा राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भई सोहीबमोजिम राष्ट्रिय सभा सदस्य चयन हुनुपर्ने संवैधानिक व्यवस्थालाई सरकारले आत्मसाथ गरेको बताए ।

‘प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट र समानुपातिकतर्फका सांसद यकिन हुनुपर्ने तथा राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भई सोहीबमोजिम राष्ट्रिय सभा सदस्य चयन हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले राष्ट्रिय सभाका लागि ध्यान केन्द्रित गरिरहेको छ,’ मन्त्री बस्नेतले भने ।

मन्त्री बस्नेतले कानुनी जटिलता यथावत राखेर सरकार आफ्नो आयु लम्ब्याउने पक्षमा नरहेको समेत प्रस्ट पारेका छन् । सहज सत्ता हस्तान्तरणका लागि वैधानिक उपायको खोजी सरकारले गरिरहेको भन्दै बस्नेतले त्यसका लागि सरकारले राष्ट्रपतिसमक्ष पठाएको राष्ट्रिय सभा निर्वाचन अध्यादेश स्वीकृत भएलगत्तै कानुनी बाटो खुल्ने र राष्ट्रिय सभा निर्वाचनको बाटो सहज हुने बताएका हुन् ।

यसैबीच कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संघीय व्यवस्थाअनुसार राष्ट्रिय सभा निर्वाचनपछि मात्रै नयाँ सरकार गठन हुने बताएका छन् । वरिष्ठ नेता पौडेलले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भए पनि संसद्को स्वरूप पूरा हुन राष्ट्रिय सभाको निर्वाचन सम्पन्न हुनुपर्ने र त्यसपछि मात्रै नयाँ सरकारको बाटो खुल्ने भन्दै कांग्रेस राष्ट्रिय सभाको निर्वाचनपछि तत्काल सत्ता हस्तान्तरण गर्ने पक्षमा रहेको बताए ।

‘संघीय संसद्को स्वरूप राष्ट्रिय सभाको निर्वाचनपछि मात्रै पूरा हुन्छ, कांग्रेस राष्ट्रिय सभासम्बन्धी कानुन छिटो निर्माण होस् र निर्वाचन सम्पन्न होस् भन्ने पक्षमा छ, त्यसपछि सत्ता हस्तान्तरणको कुरा हुन्छ,’ वरिष्ठ नेता पौडेलले राजधानीसँग भने । तर सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बहुमतप्राप्त गरेका एमाले र माओवादी गठबन्धनले भने सरकारले सत्ता हस्तान्तरण गरेर नयाँ सरकार गठनका लागि बाटो खुला गर्नुपर्ने बताउँदै आएको छ । उनीहरूले राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश स्वीकृत नगर्नसमेत राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गर्दै आएका छन् ।  –राजधानी दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार