सरसफाइ सप्ताह शुरु भएकै दिन ४५ टन फोहर उठाइयो

खोटाङ, ६ पुस— सफा र सुन्दर नगर बनाउन सरसफाइ सप्ताह शुरु गरिएको रुपाकोट मझुवागढी नगरपालिकाबाट पहिलो दिनमै ४५ टन फोहर उठाइएको छ । नगरपालिकाभित्र पर्ने जिल्लाकै प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट एकै दिन ४५ टन फोहर उठाइएको हो ।

दिक्तेलस्थित रत्नपार्कबाट शुरु गरिएको अभियानमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा क्षेत्र नं १ (क) का राजन राई र क्षेत्र नं २ (ख) का रामकुमार राई (पासाङ) ले सडकमा थुप्रिएको फोहर उठाएर अभियानको उद्घाटन गर्नुभएको थियो । बजार वरपर जथाभावी फालिएको फोहर उठाएर सोही नरगरपालिकाको वडा नं ५ लफ्याङस्थित व्यवस्थापन केन्द्रमा पु¥याएर फालिएको छ ।

फोहर नहटाएसम्म नगरपालिकालाई सफा र सुन्दर बनाउन नसकिने भएकाले वर्षौंदेखि थुपारिएको फोहर हटाउन अभियान थालिएको नगर प्रमुख दीपनारायण रिजालले बताउनुभयो । “वर्षौंदेखि थुप्रिएको फोहरलाई हटाएर सरसफाइका नियमित कामलाई निरन्तरता दिने योजना बनाएका छौँ,” उहाँले भन्नुभयो, “अभियानमा व्यवसायी, शिक्षण संस्था, स्थानीयवासी लगायतले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।”

दिक्तेल बजारबाट शुरु गरिएको सरसफाइ सप्ताह १५ वटै वडामा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । पाँच वर्षभित्र नगरपालिकालाई सफा र सुन्दर बनाउने अभियानका साथ सरसफाइ अभियान थालिएको हो ।

सरसफाइलाई निरन्तरता दिन जिल्ला समन्वय समितिका संयोजक बबि चाम्लिङको संयोजकत्वमा नगर प्रमुख रिजाल, प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारी, उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालु र नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई सदस्य रहेको अनुगमन समिति गठन गरिएको छ । अनुगमन समितिले सरसफाइसम्बन्धी गतिविधिको अनुगमन गर्दै सरसफाइयुक्त कार्यालय, शिक्षण संस्था, सफा घरलाई पुरस्कारका लागि सिफारिश गर्नेछ ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार