https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

प्रहरी र म्यादी प्रहरीबीच झडप, प्रहरीको गोली लागेर एक म्यादी प्रहरीको मृत्यु

काठमाडौं, ७  पुस  – कालिकोटमा प्रहरी र म्यादी प्रहरीबीच झडप हुँदा एक म्यादी प्रहरीको मृत्यु भएको छ । तलब कटाइएको भन्दै म्यादी प्रहरीहरुले शुक्रबार जिल्ला प्रहरी कार्यालयअगाडि प्रदर्शन गरिरहेका बेला झडप भएको हो ।

त्यसक्रममा प्रहरीले चलाएको गोली लागेर जिल्लाकै सानी–त्रिवेणी गाउँपालिका तिकुवाका विवेक ऐडीको मृत्यु भएको हो । झडपमा अरु केही घाइते भएका छन् । घटनापछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ ।

म्यादी प्रहरीको प्रदर्शनले उग्ररुप लिएपछि पहिले लाठीचार्ज र अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाइएको छ । तर, स्थिति नियन्त्रणमा नआउँदा गोली चलाउनुपरेको प्रहरीले बताएको छ । गोली लागेका ऐडीलाई जिल्ला अस्पताल पुर्‍याइएकोमा अस्पतालमै उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयको गेट अगाडि नै गोली लागेर ढलेका बिबेकलाई आधा घण्टासम्म कसैले पनि उठाउने सहास गरेन । पछि उनलाई पत्रकार नागरिक समाजका अगुवा र उद्योग वाणिज्य संघका पदाधिकारीको पहलमा जिल्ला अस्पताल पुर्‍याइएको थियो ।

अस्पताल लैजादै गर्दा ऐडीको बाटोमै मृत्यु भएको जिल्ला अस्पताल कालीकोटका डाक्टर सुभास शर्माले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कालीकोटले म्यादी प्रहरीलाई दिने भनिएको तलब भत्ता बापतको अन्तिम किस्तामा तीन हजार रुपैयाँ कटौती गरेको भन्दै म्यादी प्रहरी आन्दोलित भएका थिए ।

दिउँसो १२ बजेदेखि नाराबाजीमा उत्रिएका म्यादी प्रहरीको जुलुस जिल्ला प्रहरीको गेटमा पुग्दा आन्दोलित म्यादी प्रहरी र प्रहरीवीच दोहोरो झडप भएको थियो । झडपका क्रममा प्रहरी कार्यालयमाथि म्यादी प्रहरीले ढुंगामुढा गरेका थिए । भिड नियन्त्रण गर्न प्रहरीले दर्जनौ सेल अश्रु ग्यास प्रहार गरेको थियो ।

एक जनाको मृत्यु पछि आक्रोशित बनेका म्यादी र स्थानीयले कालीकोट सदरमुकामको प्रतिमाचोकमा रहेको प्रहरी बिट र जिरो प्वाइन्टमा रहेको प्रहरी बिटमा तोडफोड गरी आगजनी गरिदिएका छन् । यता प्रहरीले भने बाध्य भएर गोली चलाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी सुभास चन्द बोहोराले कार्यालयमै आक्रमण गरेपछि बाध्य भएर गोली चलाएको बताए । उनले म्यादीको पैसा जिप्रकाबाट नकाटिएको समेत दावी गरे ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार