‘माओवादीले पद मागे उपेन्द्रजीसँग मिलेर सरकार बनाउन सकिन्छ’- केपी शर्मा ओली

काठमाडौं, ११ पुस – वाम गठबन्धन बनाएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उल्लेख्य जनमत पाएका नेकपा एमाले र नेकपा माओवादीको पार्टी एकता लगभग असम्भव बनेको छ । नेकपा एमालेभित्रको नेतृत्व विवाद र माओवादीभित्रको सैद्धान्तिक ‘आशंका’ ले मात्रै नभई अन्य थुप्रै कारणहरुबाट एकता भाँडिने लगभग तय भइसकेको छ । केही दिनअघि एमाले उपाध्यक्ष वामदेव गौतमको भैँसेपाटीमा रहेको घरमा बसेको नेकपा एमाले स्थायी कमिटिको बैठकमा नै ‘तत्काल पार्टी एकता असम्भव’ रहेको निष्कर्ष निकालिएको खुलासा भएको छ ।

यसअघि पार्टी कार्यालयमा वा अध्यक्ष केपी शर्मा ओलीको घरमा बस्ने गरेको एमाले स्थायी समिति बैठक यसपटक गोप्य स्थान खोज्दै उपाध्यक्ष गौतमको घर भैँसेपाटीमा बसेको थियो । सो बैठकमा पार्टीका वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतमले सरकारको नेतृत्व केपी ओलीले र पार्टीको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गर्दा उपयुक्त हुने र जनमतको सम्मान हुने प्रस्ताव राखेका थिए ।

तर सो प्रस्ताव सुन्नासाथ अध्यक्ष ओली आँफै भड्किँदै नेताहरुलाई हप्काएका थिए । सो बैठकमा ओलीले आफ्नो नेतृत्वका कारण संगठन सुदृढ भइरहेको र कार्यकर्ताले अझै पनि आफ्नो नेतृत्वमा पार्टी संचालन भएको हेर्न चाहेको भन्दै करिब २ वर्ष पार्टी अध्यक्षको जिम्मा प्रचण्डलाई दिन नसकिने बताएका थिए ।शीर्ष नेतालाई बिफ्रिङ गर्दै ओलीले हाल प्रचण्डलाई अध्यक्ष मान्दा सरकार सञ्चालन र संगठन परिचालनमा बाधा पुग्न सक्ने बताएका थिए ।साथै ओलीले माओवादीले कि प्रधानमन्त्री कि अध्यक्ष माग गर्ने हो भने संघीय समाजवादी फोरमसँग मिलेर सरकार बनाउन सकिने र माओवादीलाई प्रतिपक्षमा राख्न सकिनेसमेत बताएका थिए ।

उनले बैठकमा भनेका थिए, ‘मैले हालै उपेन्द्र यादवजीसँग पनि कुरा गरेको छु, उहाँहरु संविधान संशोधनकोे ग्यारेण्टी भएको खण्डमा सरकारमा आउने वचन दिनुभएको छ, प्रचण्डलाई अध्यक्ष नै दिनुपर्ने हो भने अहिले हामी मधेसी दलसँग मिलेर सरकार बनाउँछौँ, पार्टी एकताको विषयमा संयोजन समितिमा छलफल हुँदै जान्छ ।’अति गोप्य राखिएको भैँसेपाटी बैठकबाट भने तत्काल पार्टी एकीकरण गर्ने र एकता संयोजन समितिको बैठक बस्नेलगायतका निर्णयहरु सार्वजनिक गरिएको थियो ।

बैठकमा माओवादीलाई बाहिर राखेर संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउनेसम्मका विकल्पहरुमा छलफल भएको सुईँको पाएपछि तनावमा रहेका प्रचण्ड त्यसको भोलिपल्ट चितवनतिर लागेका हुन् ।त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बोलाउने भनिए पनि आन्तरिकरुपमा कुनै पनि छलफल भएको छैन भने ‘जनमतको कदरका लागि मात्रै’ पार्टी एकता हुन्छ भन्ये ह्युम फिँजाइएको स्रोतहरुको भनाई छ ।

पार्टी एकताका विषयमा अनेक कुराहरु सार्वजनिक हुन थालेपछि प्रचण्डले केपी शर्मा ओलीलाई फोन गरेर एमालेका नेताहरुलाई जथाभावी नबोल्न निर्देशन दिन सुझाव दिएका थिए । प्रचण्डसँगको फोनमा ओलीले नेताहरुको मुख थुन्न मंगलबार संयोजन समितिको बैठक गरौँ भन्ने प्रस्ताव राखेका थिए । सो प्रस्ताव अनुसार मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने ठानिएको छ । यद्यपि प्रचण्ड अहिले गृहजिल्ला चितवनमा रहेकाले बैठकबारे अन्योल भने जारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार