सत्ता हस्तान्तरण गर्न आतुर छुः प्रधानमन्त्री शेरबहादुर देउवा

चितवन, ११ पुस –  प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन् । उनले संवैधानिक प्रक्रिया पुरा गरेर सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका हुन् । मंगलबार  विहान  चितवनको सौराहमा १४ औ चितवन हात्ती महोत्सवको उद्घानपछि बोल्दै देउवाले भने, ‘सरकार संवैधानिक प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न आतुर छ ।’

प्रधानमन्त्री देउवाले कांग्रेस सत्तामा नभए पनि देशको विकासका लागि प्रतिबद्ध रहने बताएका छन् । ‘सरकारले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा गरेर तीन चरणका चुनाव सफलतापूर्ण सम्पन्न गरेको छ, यसले नेपालमा रहेको लामो समयदेखिको संक्रमणलाई अन्त्य गरेको छ’, प्रधानमन्त्री देउवाले भने, ‘कांग्रेस सत्तामा रहे पनि नरहे पनि नेपाल र नेपालीको विकासका लागि निरन्तर प्रतिबद्ध छ ।’

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले नेपालको राजनीतिक इतिहासमा हरेक संकमणको अन्त्य गर्न कांग्रेस नेतृत्वको सरकार सफल भएको समेत दाबी गरे। ‘इतिहास हेरे हुन्छ, कांग्रेसले नेतृत्व गरेका सरकारले एतिहासिक संक्रमणको अन्त्य सफलतापूर्ण ढंगले गरे । तीन चरणको चुनाव सम्पन्न भएसँगै देश विकासको ढोका खुलेको देउवाको भनाइ छ । उनले चितवन र सौराहा पर्यटकका लागि आकर्षक गन्तव्य भएकाले यी क्षेत्रको सुधार र विकासमा सरकार प्रतिबद्ध रहेको प्रष्ट पारे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार