काठमाडौं, १३ पुस — सरकारले दुबै मृगौलाले काम नगर्ने व्यक्ति, क्यान्सर रोगी र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका अपाङ्ग विरामीहरुलाई मासिक रु. ५ हजारका दरले जिविकोपार्जन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठकले यस्ता विरामीलाई जिविकोपार्जन स्वरुप सो परिमाणमा भत्ता दिने निर्णय गरेको हो ।
सरकारले मिर्गौला फेल भएकाहरुको आजिवन डायलासिस र प्रत्यारोपण निशुल्क हुने व्यवस्था गरिसकेको छ । यस्तै विपन्न नागरिकका लागि क्यान्सर र स्पाइनल इन्जुरीको उपचारका लागि एक लाख रुपैयाँका दरले उपचार खर्च दिने गरेको छ । अहिले सरकारले क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरी लगायतका जटिल रोगबाट पीडित बिरामीको उपचारमा सहुलियत दिँदै आएको छ। स्वास्थ्य मन्त्रालयले यी बिरामीका लागि दिने भनिएको रकम सूर्तिजन्य पदार्थमा थप कर लगाई व्यवस्थापन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो।
स्वास्थ्य सचिवमा डा. चौधरी नियुक्त
त्यस्तै बिहीबार बसेको बैठकले स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरीलाई नियुक्त गरेको छ । चौधरी स्वास्थ्य मन्त्रालयकी प्रमख विशेषज्ञका रूपमा कार्यरत थिइन् । स्वास्थ्य सचिवकालागि चौधरीसँगै प्रमुख विशेषज्ञद्धय डा. विनोदमान श्रेष्ठ तथा डा. सुशीलनाथ प्याकुरेल पनि दाबेदार थिए । डा. चौधरी स्वास्थ्य सचिव भएसँगै स्वास्थ्य मन्त्रालयमा विगत तीन सातादेखि रिक्त रहेको स्वास्थ्य सचिव पदपूर्ति भएको छ ।
डा. किरण रेग्मीले गत मंसिर १८ गते अनिवार्य अवकास पाएसँगै स्वास्थ्य सचिव पद रिक्त थियो । वरियतामा पहिलो नम्बरमा रहेकी डा. पुष्पाले निमित्त सचिवको कार्यभार सम्हाल्दै आएकी थिइन् ।
बैठकले व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको प्रथम चरणमा असल अभ्यासहरुलाई संस्थागत रुपमा संचालन गर्दै यसलाई थप सुदृढा तथा प्रभावकारी बनाउने उदेश्यले यस कार्यक्रमको थप प्रभावकारीका लािग विश्व वैंकले दिने ६ अर्बको ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले कोरिया सरकारले काभ्रे धुलिखेलमा अवस्थित काठमाडौं विश्व विद्यालयलाई अनुसन्धान तथा विकास केन्द्र स्थापनाका लागि दिने १ अर्ब चार करोड अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।