बस्तिविचमा रहेको ग्यासउद्योग विरुद्ध नेविसंघ, बालाजु औद्योगिक क्षेत्र अगाडी धर्ना

काठमाडौँ, १४ पुस —  काठमाडौंको बालाजुमा रहेको नेपाल ग्यास उद्योगले विस्तार गर्न लागेको ग्यास प्लान्ट विरुद्ध नेपाल विद्यार्थी संघ सडकमा उत्रिएको छ । शुक्रबार बालाजु औद्योगिक क्षेत्रको प्रवेशद्वारमा नेविसंघले नेपाल ग्यासको क्षमता विस्तारमा सच्चिनुपर्ने भन्दै विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शन कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले यो आन्दोलन कुनै उद्योगप्रति नभएर बस्ति जोखिमको सावधानीको लागी खबरदारी भएको बताए । कार्यंक्रममा नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेले नेपाल ग्यासमात्र होइन बस्ति जोखिममा पर्ने हरेक उद्योगको विषयमा सरकारको ध्यान जानुपर्ने बताए। यस्तै काडमाडौ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले वस्तीबाट उद्योग नहटेसम्म निरन्तर लडाईं लडिरहने बताए । उनले भने “ग्यास बमले स्थानीयको जुनसुकै बेला ज्यान जान सक्छ त्यसैले यो उद्योग हटाउन नेविसंघको अभियानमा सबै एकजुट हुनुपर्छ” ।

यस्तै विरोध प्रदर्शनमा संबोधन गर्दै नेविसंघ केन्द्रिय सदस्य तथा विरोध कार्यक्रम संयोजक शुसिल भट्टले धेरै विद्यालय तथा क्याम्पस भएको क्षेत्रमा नेपाल ग्यास उद्योग रहेको र बनस्थली विद्यालय नजिक पेट्रोल पम्पको कारण विद्यार्थीहरु नै असुरक्षित देखी खबरदारी साथै नसच्चिए शसक्त आन्दोलन गर्नुपरेको बताए । उनले कमिसनको खेलमा कसैले स्थानीयको स्वास्थ्यमाथि खेलबाड गर्छ भने नेविसंघ त्यसलाई परास्त गर्न सक्षम रहेको पनि चेतावनी दिए ।

जनताको जीवनसँग जोडिएको विषयमा नेविसंघ सधैं स्थानीयसँगै रहेको भन्दै नेविसंघले ज्ञापनपत्र बुझाउने, अल्टिमेटम दिने र त्यतिले पनि नभए सडक संघर्ष गर्न पनि आफूहरु तयार रहेको नेविसंघ एनआर क्याम्पस अध्यक्ष परोपकार अधिकारीले बताए । नेविसंघले यसै विषयमा सरोकारवालाहरुसँग मिलेर पनि काम गर्ने र सच्चिन तयार नभए देशव्यापी आन्दोलन गर्नेगरी कार्यक्रम अगाडी बढ्ने समेत गर्न तयार रहेको नेविसंघ नेता निरञ्जन थापाले जानकारी दिए । विरोध कार्यक्रममा सयौंको संख्यामा स्थानीयको पनि सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार