समानुपातिकतर्फको बन्दसूचि तलमाथि गरेको पाइए कारबाही हुन्छ : आयुक्त यादव

काठमाण्डौ, १६ पुस – प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दलहरुले प्रदेशसभाको समानुपातिक तर्फ पहिला बुझाएको बन्द सूचिबाट नाम तलमाथि गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएका छन् ।रिपोर्टर्स क्बल नेपालले आइतबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै आयुक्त यादवले नाम तलमाथि गरेको भन्ने विषयमा आयोगले छनविन भइरहेको बताए ।

“निर्वाचन आयोगको निर्देशिकाअनुसार पहिला बन्द सूचिमा नाम जुन बुझाइएको छ, त्यही अनुसार अहिले नाम पठाउनुपर्छ । त्यसमा क्रमसंख्या तलमाथि गर्ने अधिकार दलहरुलाई छैन । त्यो भनेको कानुन र निर्देशिका विपरित हुन्छ । त्यस विषयमा आयोगको सचिव र जिल्ला निर्वाचन अधिकृतहरुले छानबिन गरिरहनुभएको छ ।”

यादवले राष्ट्रियसभाको चुनाव नभएसम्म प्रतिनिधीभा चुनावको परिणाम सार्वजनिक गर्न नमिल्ने बताएका छन् । आयुक्त यादवले राष्ट्रियसभाको चुनावपछि आएको नतिजाका आधारमा प्रतिनिधिसभातर्फ समानुपातिकको नतिजा सार्वजनिक गरिने बताए । संविधान अनुसार संघीय संसदमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने भएकाले राष्ट्रियसभाको नतिजा पछि महिलाको सहभागिता कति थप्नुपर्ने हो त्यो प्रतिनिधीसभाको समानुपातिकबाट पूर्ति गर्नुपर्ने यादवले बताए ।

यादवले राष्ट्रियसभा र प्रतिनिधिसभा गरी कूल ३ सय ३४ को ३३ प्रतिशत महिला चाहिने भएकाले त्यसका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाबाट पूरा गर्नुपर्ने व्यवस्था भएको बताए । राष्ट्रियसभाको चुनावको मिति घोषणा भएको बढिमा ३० दिनभित्र सबै नतिजा सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था भएकाले सोही अनुसार आयोगले काम गर्ने यादवले बताए ।

यादवले राष्ट्रियसभाको चुनावका लागि प्रदेश प्रमुख पहिला तोक्नुपर्ने कानुनी व्यवस्था भएको जानकारी गराएका छन् । राष्ट्रियसभाको चुनावका मतदाता प्रदेश सासंद भएकाले उनीहरुले पहिला शपथ ग्रहण गर्नुपर्ने उनले बताए । शपथ खानका लागि प्रदेश प्रमुखको आवश्यकता रहेको यादवले बताए ।

यसैबिच यादवले प्रतिनिधीसभाको समानपातिक तर्फको नतिजा लुकाएको भन्ने एमाले नेताहरुको अरोपको खण्डन गरेका छन् । नतिजा सार्वजनिक गर्नका लागि कानुनी प्रक्रिया केके छ भनेर नजानेकाले एमालेका नेताहरुले त्यस्तो आरोप लगाएको उनको भनाई थियो । पत्रकारको प्रश्नको जवाफ दिदै यादवले भने, “एमालेका नेताहरुले शंका गर्ने नगर्ने कुरा उहाँहरुको धर्म हो । उहाँहरुलाई नै सोध्नुस् ।” नेकपा एमालेका नेता सुवास नेम्वाङले निर्वाचन आयोगको नियतमाथि आशंका उब्जिएको बताएका थिए ।

नेम्वाङले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको एक महिना पुग्न लाग्दा पनि आयोगले समानुपातिकतर्फको नतिजा लुकाएर राखेको आरोप लगाएका थिए । यादवले भने नियम अनुसार राष्ट्रियसभाको चुनाव सकिएपछि मात्रै प्रतिनिधीसभातर्फको समानुपातिक नतिजा सार्वजनिक गर्न मिल्ने दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार