तथ्याङ्क विभागले मनायो स्थापनाको ५९ औं वार्षिकोत्सव

काठमाडौं, १७ पुस  — केन्द्रीय तथ्याङ्क विभागले आज एक औपचारीक कार्यक्रम गरी आफ्नो स्थापनाको ५९ औं वार्षिकोत्सव मनाएको छ । सो वार्षिकोत्सव कार्यक्रममा विभागका पूर्व महानिर्देशक, उपमहानिर्देशक तथा विभिन्न निकायहरुमा कार्यरत तथ्याङ्क शास्त्री हरु गरी करिव ८० जनाको उपस्थिति थियो ।

कार्यक्रममा उपस्थित अतिथीहरुलाई विभागका उपमहानिर्देशक मनोजलाल प्रधानले स्वागत गर्नुभएको थियो । कार्यक्रममा विभागका पूर्व महानिर्देशकहरु डा. सुभानी, उत्तमनारायण मल्ल, विकास विष्ट ले आफ्ना मन्तव्य राख्नुभएको थियो । उहाँहरुले विगत लामो ईतिहास रहेको तथ्याङ्क विभागको कार्य प्रकृति अन्य निकायहरुभन्दा नितान्त फरक हुने र सो सुकैले यसको महत्व बुझ्न नसकेको कारणले हामी माथि चुनौति रहिरहेको तर समयकालमा तथ्याङ्कको ठूलो महत्व भएकाले हामी थप ब्यवसायिक भएर तथ्यांकीय क्षेत्रमा अगाडी बढ्नु पर्ने बताउनुभयो ।

आफ्नो कार्यकालमा तथ्याङ्क माथि बेला बेला कुनै न कुनै तरिकाले प्रहार हुने गरेको र सो को सामना गर्नका लागि हाम्रो काम देखाएर अगाडि बढियो भने अन्तराष्ट्रिय रुपमा नै यसको मूल्यांकन हुने कुरा पनी बताउनु भयो । सो कार्यक्रममा विभागका निर्देशक ढुण्डिराज लामिछाने, अर्थ मन्त्रालयमा कार्यरत बरिष्ठ अर्थशास्त्री डा. डिल्ली अर्याल, रा.यो.आ.आधिकारी क ट्रेड यूनियन, विभागीय कार्यसमितिका अध्यक्ष पृथ्वी विजयराज सिजापतिले समसामयिक विषयमा मन्तब्य राख्नु भएको थियो ।

उक्त अवसरमा उहाँहरुले देश संघीयतामा अगाडी बढेको अवस्थामा संघ, प्रदेश तथा स्थानीय निकायमा संबिधानको मर्म अनुरुप राष्ट्रिय तथ्याङ्क कार्यालयले काम गर्नुपर्ने र सबै तहमा उत्पादन हुने तथ्याङ्कको ब्यवस्थापन गर्न चूनौतिपूर्ण रहेको तर यसलाई अवसरका रुपमा लिई राज्यलाई योजना निर्माण, कार्यक्रमको मूल्यांकन तथा तथ्याङ्कमा आधारीत योजना तर्जुमाका लागि आवश्यक गुणस्तरीय तथ्याङ्क उपलब्ध गराई देश विकासमा महत्वपूर्ण भूमिका निभाउन सकिने बताउनु भयो ।

तथ्याङ्क क्षेत्रमा विशेषज्ञता हासिल गरी काम गर्ने कर्मचारी निकै कम रहेको र राज्यको तल्लो निकायसम्म पुगी गुणस्तरीय तथ्याङ्कको उत्पादन तथा ब्यवस्थापन गर्न हाल कायम रहेका कर्मचारी निकै कम हुने कारणले गैर ब्यवसायिक कर्मचारीलाई तथ्याङ्कको जिम्मा दिनुपर्ने अवस्था आए गुणस्तरमा शंका हुने पनि बताउनु भयो ।

उक्त कार्यक्रममा समय समयमा तथ्याङ्कशास्त्रीहरुको ब्यवसायिक संघ उदाउने र अस्ताउने गरेकाले ब्यवसायिक हक हितका लागि नेपाल तथ्याङ्क संघलाई सक्रिय बनाई विभिन्न फोरम हरुमा यसको प्रयोग गनुृपर्ने कुरा पनी उठेको थियो ।

कार्यक्रममा तथ्याङ्क विभाग वा अन्तर्गतका कार्यालयमा रही लामो समय काम गर्नुृभएका २ जना कर्मचारी हरुलाई Employee of the year को रुपमा सम्मान गरिएको थियो । सम्मान पाउनुहुने हरुमा विभागमा कार्यरत निर्देशक श्री अम्बिका बस्याल र तथ्याङ्क कार्यालय काभ्रेका तथ्याङ्क सहायक श्री सन्तोष कार्की रहनु भएको थियो । उहाँहरुलाई माला, दोसल्ला ओढाएर तथा मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो ।

अन्त्यमा विभागका उपमहानिर्देशक श्री नेविनलाल श्रेष्ठले आफ्नो मन्तब्य राख्नुभएको थियो भने महानिर्देशक श्री सुमनराज अर्यालले आगामी वर्षदेखि अलि फरक तरिकाले विभिन्न कार्यक्रम गरी तथ्याङ्क विभागको वार्षिकोत्सव मनाईने र राष्ट्रिय तथ्याङ्क दिवस मनाउनका लागि मन्त्रीपरिषदमा प्रस्ताव लगिने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमको सहजीकरण विभागका निर्देशक राजन सिलवालले गर्नुभएको थियो । जनतालाई अधिक मात्रामा ठोस हित हुने नीति निर्धारण गर्न, सरकारी विभागहरुको प्रशासकीय निपूर्णता बढाउन र मूलुकको आर्थिक गतिबिधि बारे यथार्थ ज्ञान प्रााप्त गर्न सरकारलाई यथार्थ आधार चाहिने र त्यस्तो आधार जुटाउन तथ्याङ्क सम्बन्धी कामको निमित्त एक केन्द्रीय विभागको स्थापनाको आवश्यकता देखी साविक रहेको संख्या विभाग खारेज गरी सरकारले २०१५ पौष १७ गतेका दिनदेखि तत्कालिन अर्थ मन्त्रालय अन्तर्गत रहने गरी केन्द्रीय तथ्याङ्क विभागको स्थापना गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार