प्रदेश राजधानी, प्रदेश प्रमुख तोक्ने र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने विषयमा बोलाइएको सर्वदलीय बैठक सकिएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकका विषयमा सहमती जनाउन आग्रह गरेका थिए ।
बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले माओवादी नेताहरुले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषय सरकारको भएको भन्दै ति काम छिटो गर्न सुझाव दिएको बताए । बैठकपछि बोल्दै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडलले प्रदेश प्रमुख र अस्थायी राजधानी तत्काल तोक्ने सहमति भएको प्रतिक्रिया दिए। सरकार र पाँच दलबीच सहमति गरेर अगाडि बढ्ने सहमति भएको पौडेलले बताए।
‘प्रदेश प्रमुख नियुक्त गर्ने र अस्थायी राजधानी तोक्ने अधिकार सरकारलाई दिन हामी सहमत भएका छौ,’ माओवादीका नेता नारायाणकाजी श्रेष्ठले भने, ‘राजनीतिक सहमति लिन प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर सत्ता हस्तान्तरण गर्न तयार रहेको पाएकाले यस्तो अधिकार सरकारलाई गठबन्धनले दिएको हो।’
त्यस्तै बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति तोक्न पनि सरकारलाई दलका नेताहरुले सुझाव दिएका थिए । बैठकपछि माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले चाडो प्रदेश प्रमुख र अस्थायी केन्द्रका बारेमा सरकारलाई निर्णयमा पुग्न सुझाव दिएको बताए ।
सर्वदलीय बैठकमा सहमति जुटाएर सरकारले आज बस्ने मन्त्रिपरिषद बैठकबाट यी तीनवटै विषयमा निर्णय गर्ने तयारी गरेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेताहरु सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल, अग्नि खरेल, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, विजय गच्छदार, सशाङ्क कोइराला, कृष्ण सिटौला, माओवादी नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, संघीय फोरमका राजेन्द्र श्रेष्ठ, राजपाका महेन्द्र राय, राजेन्द्र महतो लगायतका नेताहरु सहभागि थिए । एमाले अध्यक्ष केपी ओली भने अस्वस्थताका कारण बैठकमा उपस्थित हुन सकेनन् ।