राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई तीव्रता दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २१ पुस – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान सम्बन्धित मन्त्रालयहरुलाई सक्रियताका साथ लाग्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले निर्वाचनमा केन्द्रित हुनु परेकाले केही समययता विकास, निर्माणको कामले अपेक्षा गरे अनुसार उपलब्धि हासिल गर्न नसकेको पनि स्पष्ट पारे । उनले चालू आर्थिक वर्षको बाँकि अवधि लक्षित उपलब्धि हासिल गर्न केन्द्रित हुने आश्वासन पनि दिए ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय विकास समस्या समाधान समितिको ४१ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काठमाडौं– निजगढ दू्रतमार्ग निर्माण, भैरहवा, पोखरा र निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको कामलाई गति दिन पनि सम्बन्धित मन्त्रालयलाई पुनः निर्देशन दिए । समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री देउवाले तीन वटै तहको निर्वाचन सम्पन्न भएकाले अब विकास, निर्माणको कामले गति लिने विश्वास पनि व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले स्थानीय तह र प्रदेशसभालाई आवश्यक जनशक्तिको तत्काल व्यवस्थापन गरी त्यहाँको कामलाई प्रभावकारी बनाउन पनि सम्बन्धित मन्त्रालयलाई सचेत गराए । उनले आवश्यक जनशक्ति र वित्तिय व्यवस्थापन गरी प्रादेशिक र स्थानीय तहको विकास, निर्माणको कामलाई तीव्रता दिन सरकार प्रतिबद्ध रहेको पनि बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिय वाग्ले चालू आर्थिक वर्षको पछिल्लो चार महिनाको प्रगति समिक्षा विवरण पेश गर्दै निर्वाचनका कारण खर्च धान्न कठिनाई भईरहेको स्पष्ट पारे । उनले पछिल्लो चार महिनाको खर्च राजस्वबाट खर्च धान्न समेत कठिनाई भएकाले वैदेशिक सहायतामा भरपर्नुपर्ने अवस्था आएको पनि उल्लेख गरे ।

चालू आर्थिक वर्षको प्रथम चौमासिकमा आर्थिक वृद्धिदरको तुलनामा खर्च बढेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष वाग्लेले प्रथम चौमासिक खर्च करिब १ खर्ब ८४ अर्ब ५ करोड पुग्न गएको जानकारी दिए । निर्वाचनका कारण प्रथम चौमासिक खर्च बढन गएको समिक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी पछिल्लो चार महिनामा राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयन उत्साहजनक रहेको पनि समिक्षा प्रतिवेदनमा दावी गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार