देउवाविरुद्ध पौडेल समूहको गोप्य भेला, को–को सहभागी भए ?

काठमाडौं, २२ पुस – दोस्रो तहका १४ नेताले शीर्ष नेतालाई सोधे– नेतृत्वले गरेको गल्तीमा साक्षी बसिरहने कि राजीनामा दिने ? प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले अनपेक्षित हार बेहोरेपछि नेता रामचन्द्र पौडेल पक्ष युवा नेताहरू नेतृत्वप्रति खनिएका छन् । उनीहरूले नेताहरू पौडेल, महामन्त्री शशांक कोइरालासहितका पदाधिकारी, संसदीय बोर्डका सदस्य र केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरूको कार्यशैलीप्रति आपत्ति जनाएका छन् ।

दोस्रो तहका नेता नवीन्द्रराज जोशीको अगुवाइमा शुक्रबार भएको भेलामा दीपक गिरी, कमला पन्त, रामकृष्ण यादव, गुरु घिमिरे, गोविन्द भट्टराई, बद्री पाण्डे, कल्याण गुरुङ, जीवन परियार, किरण यादव, रत्ना शेरचन, धनराज गुरुङ, सरिता प्रसाईं, हृदयराम थानीलगायतले नेताहरूलाई गुनासो सुनाए ।

नेता पौडेल, महामन्त्री कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. रामशरण महत, महेश आचार्य, दीपक गिरी, दिलेन्द्र बडू भेलामा उपस्थित थिए । नक्सालको वन्जला रेस्टुरेन्टमा भएको भेलामा दोस्रो तहका नेताहरूले पार्टी नेतृत्वले गरेको गल्तीमा आफ्नो पक्षका नेताहरू साक्षी बसेकोप्रति पनि असन्तुष्टि जनाए ।

‘चुनावमा समानुपातिक र प्रत्यक्ष उम्मेदवारका विषयमा भएका आर्थिक चलखेल, राजनीतिक कारणले नेताहरूको छवि जनता र कार्यकर्ता पंक्तिमा बिग्रेको छ । यसमा यो गुट त्यो गुट भन्ने नै छैन भन्नेबारेमा हामीले गम्भीर कुरा उठायौँ,’ छलफलमा सहभागी एक नेताले नयाँ पत्रिकासँग भने, ‘यसलाई सुधार गर्ने हो भने हामी तपाईंहरूलाई साथ दिन्छौँ । सुधार्नुभएन भने कार्यकर्ता र जनताले साथ दिँदैनन् । सभापतिसँगै बसेर कार्यसम्पादन समिति र संसदीय बोर्डमा बसेर गलत निर्णय गर्नुभएका तपाईंहरूले पहिलो राजीनामा दिनुस् । अनि तपाईंहरूले पनि विरोध गर्न सुझाउँछ भनेका छौँ ।’

विशेष महाधिवेशन बोलाउनुपर्ने माग
पार्टीले संघीयताअनुसार पार्टीको संरचना नबनाएको, भ्रातृ संस्थालाई निर्वाचनमा प्रभावकारी परिचालन नगरेको, गुटका आधारमा टिकट वितरण गरेको जस्ता कमजोरीले पार्टीले पराजय बेहोरेको भन्दै गम्भीर समीक्षा गर्न छिटो केन्द्रीय समिति, महासमिति र आवश्यक पर्दा विशेष महाधिवेशन बोलाउनुपर्ने मागसमेत १४ नेताले गरेका छन् ।

संस्थागत पार्टी सञ्चालन नभएको, सरकारमा जाँदा जनअपेक्षा पूरा गर्न नसकेको, स्थानीय तहको निर्वाचनको परिणामबाट पार्टीले नसिकेको भन्दै नेताहरूले ‘निर्मम’ समीक्षा गर्दै पार्टीलाई पुनर्जीवन दिनुपर्ने बताएका छन् । पार्टी रूपान्तरणका लागि नेतृत्वको समीक्षा, पार्टी सञ्चालनको पद्धति, विधान र संगठन सञ्चालनका लागि अवधारणापत्र नै आगामी केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने तयारी गरेको भेलाको अगुवाइ गरेका नेता जोशीले जानकारी दिए ।

आफ्नो पक्षका केन्द्रीय सदस्यहरूलाई टिकट दिलाउन नसकेको भन्दै तीव्र असन्तुष्टि जनाइएको थियो । ‘धनराज गुरुङ, कमला पन्त, गुरु घिमिरे, कल्याण गुरुङ, सरिता प्रसाईं, बद्री पाण्डेले किन टिकट पाएनन् ? यस्तो गुनासो सोध्न देशभरबाट फोन आउँछ, हामीसँग दिने जवाफ हुँदैन,’ नेता जोशीले गुनासो सुनाउँदै भेलामा भने, ‘जिम्मेवार साथीहरूले अवसर नपाउँदा पनि तपाईंहरूले नै प्रभावकारी पहल नलिएपछि हामीले कार्यकर्तालाई जवाफ दिनै सकेका छैनौँ ।’

कसले के भने ?

हाम्रो पक्षको अडान भएन : नवीन्द्रराज जोशी
उम्मेदवार चयनमा संसदीय बोर्डले न्यायपूर्ण निर्णय गरेन । सभापतिको गुटले एकलौटी ग¥यो । बोर्डमा बसेका हाम्रो पक्षका नेताहरूले अडान लिनुपथ्र्यो । तर, भूमिका प्रभावकारी भएन । केन्द्रीय समितिमा रहेका हाम्रो पक्षका ६ नेताले टिकट पाएनन् । सभापति पक्षका सुरेन्द्र पाण्डेबाहेकका सबैले पाए, तर यसमा हाम्रो पक्षको नेतृत्वले किन प्रभावकारी अडान लिन सकेन ?

दोषी सभापति मात्रै होइन, रामचन्द्र दाइहरू पनि हुन् : गुरु घिमिरे
निर्वाचनमा पार्टीले बेहोरेको हारको जिम्मा सभापतिले लिनुपर्छ र जवाफदेही हुनुपर्छ । तर, साक्षी बस्ने तपाईंहरूले पनि उन्मुक्ति पाउनुहुन्न । हामी शेरबहादुर र रामचन्द्र दाइलाई एउटै उचाइमा हेर्छौँ, देउवाले अन्याय गर्न खोजे रामचन्द्र दाइले रोक्नुपर्छ । रामचन्द्र दाइले अन्याय गर्न खोजे देउवा दाइले रोक्नुपर्छ । यसर्थ मूल दोषी सभापति भए पनि निर्णय प्रक्रियाका साक्षी बस्नुभएका रामचन्द्र दाइ, महामन्त्री, संसदीय बोर्डका नेताहरू, ०४८ देखि मन्त्री बन्दै आउनुभएका, केन्द्रीय सदस्य भइरहने सबैले जिम्मा लिनुपर्छ । यसको जिम्मा हामीले के–कति लिनुपर्छ, हामी पनि तयार छौँ ।

राजीनामा दिनुस् अनि विरोध गर्नुस् : कल्याण गुरुङ 
केन्द्रीय सदस्यले टिकट नपाउने हाम्रो अयोग्यता के हो ? हामीले किन पाएनौँ । बाहिर आदर्शवान, निष्ठाको कुरा तपाईंहरू नै गर्नुहुन्छ, तर संस्थापन पक्षले गर्दै आएको स्वेच्छाचारिता, विधानविपरीतका कामको साक्षी बस्ने, समितिमा बसेर टिकट बाँड्ने अनि अरूलाई दोष थोपर्ने काम नगर्नुस् । नेतृत्वले गलत नै गरेको हो भने रोक्न राजीनामा गरेर आउनुस् । आफैँ यस्ता समितिमा बस्नेले विरोध गर्न सक्दैनन् । बाहिर आउनुस् अनि विरोध गर्नुस् । गुट–उपगुटमा नलागीकन, पार्टीको बृहत्तर स्वार्थलाई आगामी रणनीति बनाएर जाउँ । पार्टीलाई एकढिक्का गर्न, शुद्धीकरण, सुदुढीकरण र सबलीकरण गरेर जाउँ ।

पौडेल पक्षका शीर्ष नेताकै गुनासो
१४ जनाको गुनासो सुनेपछि नेताहरूले ‘तपाईंहरूको माग र गुनासो ठीक छ । तपाईंहरूले के गर्नुभयो भनेर हामीलाई पनि सोधिएको छ’ भन्दै छिटो केन्द्रीय समिति, महासमिति र आवश्यक परेर विशेष महाधिवेशन बोलाउन नेतृत्वलाई दबाब दिने बताएका थिए । साथै, पार्टी नेतृत्वले उम्मेदवार बनाउँदादेखि समानुपातिक सूचीलाई अन्तिम रूप दिँदा आफूहरूलाई उपस्थितिमा सही गराउने, तर निर्णयमा सही नगराउने गरेको भन्दै विवशता प्रस्तुत गरेका थिए ।

गम्भीर समीक्षा आवश्यक : रामचन्द्र पौडेल
हामीले देशलाई एउटा अध्यायमा प्रवेश गरायौँ । बिपीको यात्रालाई यहाँसम्म ल्याएर एउटा खुट्किलो पार गर्दै संविधानसभाबाट संविधान बनाउने र यसको कार्यान्वयन गर्नेसम्मका नेतृत्व गर्दै छौँ, तर कम्युनिस्टहरू शासनमा अप्रत्याशित हावी भए । यो हाम्रो असफलता हो कि उनीहरूको सफलता ? यसको खोजी गर्नुपर्छ । हामीले राख्दै आएको विचार नेतृत्वमा परिवर्तन सम्भव भइरहँदा हामी यसपटक किन पराजित भयौँ ? यसको गम्भीर समीक्षा हुनुपर्छ । यस विषयमा एक बसाइको छलफलले पुग्दैन । फेरि फेरि बसौँ र छलफल गरौँ ।

सबै मिलेपछि बलियो पार्टी : डा. शशांक कोइराला
हो, हामी अप्ठ्यारोमा छौँ । सबै कुरा राम्रो भइरहेको छैन । सबै मिलेर पार्टीलाई बलियो बनाउन लाग्नुपर्छ, राम्रो बनाउनुपर्छ । अब म नियमित पार्टी अफिस जान्छु, काम गर्छु । सबै लागौँ राम्रो पार्टी बनाउँ ।

म मात्रै कति बोल्ने : प्रकाशमान सिंह
मैले एकोहोरो रूपमा पार्टीले बेहोरेको हारको जिम्मा सभापतिले लिनुपर्छ र यसमा रामचन्द्रजी र महामन्त्रीले पनि बोल्नुपर्छ भन्दै आएको छु । तर, म मात्रै विरोधीजस्तो देखिएको छु । शेरबहादुरजीलाई मात्रै दोष दिनेभन्दा पनि तपाईंहरू (रामचन्द्र र शशांक) पनि अग्रसर हुनुपर्छ, बोल्नुपर्छ ।

राम्रा काम नै बुझाउन सकेनौँ : रामशरण महत
कांग्रेसकै नेतृत्वमा ठूला राजनीतिक परिवर्तन सम्भव भए । परिवर्तन र समृद्धिको यात्रामा देशलाई अघि बढाउन हामीले नै धेरै काम गरेका छौँ, तर हामीले गरेका कामलाई नै भजाउन सकेनौँ । पार्टी पारदर्शी हिसाबमा नचल्दा कमजोर हुँदै गएको छ, अब यसरी चल्दैन ।- नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार