काठमाडौं, २५ पुस — अदालतको मानहानी गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा आज बिहानैदेखि प्रदर्शन सुरु भएको छ । डा.केसीका समर्थकहरुले उनको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै मंगलबार बिहानैदेखि प्रदर्शन भएको हो ।
प्रदर्शनमा राजनीतिक दलका नेतादेखि विभिन्न पेसाकर्मीहरुको बाक्लो उपस्थिती भइरहेको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वस्वास्थ्यमन्त्री गगन थापाले समेत प्रदर्शनकारीहरुलाई आफ्नो साथ रहेको घोषणा गरेसँगै थापा माइतीघर मण्डला पुगिसकेका छन् ।
सबै नेपालीका लागि सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन संघर्षरत डा. गोविन्द केसीको गिरफ्तारीको कडा शब्दमा निन्दा गर्दै उहाँलाई तुरन्त रिहा गर्न सरकारसँग माग गर्छु ।
हाम्रो लोकतन्त्रले अन्यायको अहिंसात्मक विरोधलाई न्याय-सम्पादनमा अवरोध मानेर दण्डित गर्ने अधिकार दिएको छैन, थापाले भने ।
सर्वोच्च अदालतले आइतबार चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको डीनबाट बर्खास्तीमा परेका डा शशी शर्मालाई पुनर्बहाली गर्न आदेश दिएपछि डा केसीले अनशन सुरु गरेका थिए ।
डा केसीले प्रधानन्यायाधीश पराजुली ‘भ्रष्ट र माफिया’ भएको आरोप लगाएपछि उनलाई पक्राउ गरी अदालतमा उपस्थित हुन सर्वोच्चले आदेश दिएको थियो ।
डा केसीले नेपालका न्यायालयहरु न्याय दिनेभन्दा पनि न्याय किनबेच गर्ने, भ्रष्ट र अपराधीहरुलाई संरक्षण दिने तथा इमान्दारहरुलाई दन्डित गर्ने गिरोहको नियन्त्रणमा रहेको आरोपसमेत लगाएका थिए ।
केसीको पक्राउबारे गृहमन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाईसमेत जानकारी नभएपछि स्थिति गम्भीर बनेको छ ।केसीलाई मंगलबार बिहान ९ बजे उपस्थित गराउन सर्वोच्चले आदेश दिएको छ । सर्वोच्च वरिवरि सुरक्षाकर्मीले घेरेका छन् ।