बाम गठबन्धनले बहुमत ल्याएपछि ‘रअ’को नेपाल स्टेशनमा ठूलो उथलपुथल, हटाइए प्रमुख

काठमाडौं, २७ पुस — नेपालमा वामपन्थीहरूको बर्चस्व बढेपछि छिमेकी राष्ट्र भारतले नेपालस्थित आफ्नो गुप्तचरी निकायमा ठूलो हेरफेर गरेको छ । नेपालको संविधान निर्माणमा हस्तक्षेपकारी भूमिका खेल्न खोजेको भारतले आफू अनुकूलको निर्णयहरू गराउन नसकेको भनेर नेपालस्थित उसका निकायका प्रमुखहरूको आलोचना गर्दै आएको थियो ।

उच्च स्रोतका अनुसार भारतले लैनचौरस्थित राजदूतावासमा रहेको रिसर्च अफ एनलाइसिस वीङस् ‘रअ’का प्रमुखलाई हटाएको छ । चार वर्षका लागि नेपाल हेर्ने गरेर आएका ‘रअ’ प्रमुख विवेक जोहरी पुस २८ गते अर्थात जनावरी १२ मा स्वदेश फिर्ता हुँदैछन् ।

जोहरीको स्थानमा ‘रअ’को मुख्यालयले अभिजित हल्दरलाई पठाएको छ । स्रोतका अनुसार हल्दर पाँच दिन अघि नै नेपाल आइसकेका छन् । आफ्नो काममा दक्ष र कडक मानिने अभिजित हल्दरलाई भारतले ठूलो विश्वास गरेर पठाएको बुझिएको छ ।

जोहरीबाट भने अनुसारको काम हुन नसकेपछि दुई वर्ष कार्यकाल बाँकी रहँदै भारतले फिर्ता बोलाएको हो । त्यसैगरी भारतले भारतीय राजदूतावासका फस्ट सेक्रेटरी अर्थात पोल्टिकल चिफ गोपाल कृष्णनलाई पनि फिर्ता बोलाएको छ । कृष्णनको स्थानमा भारतको बिदेश मन्त्रालयले विप्रव पाण्डेलाई पठाएको छ । अब पाण्डेले राजदूतावासको सबै जिम्मेवारी लिने छन् ।

गोपाल कृष्णनको कामबाट भारतले चित्त बुझाउन नसकेपनि ‘रअ’का प्रमुख विवेक जोहरीले भन्दा राम्रो काम गरेको मूल्यांकन गरेको स्रोतको भनाई छ ।

‘पोल्टिकल चिफ कृष्णन्ले ‘रअ’ नेपाल स्टेसनका चिफ जोहरीले भन्दा राम्रो काम गरेका छन्’, स्रोतले दाबी गर्दै भन्यो–‘विवेक जोहरीले खासै काम गर्न सकेनन् । ‘रअ’को मुख्यालय उनीसँग रिसाएको छ । त्यही भएर चार वर्ष कार्यकालका लागि आएका उनी दुई वर्ष अगाडि नै दिल्ली तानिएका छन् ।’

बंगाल घर भएका हल्दरले आउनेवित्तिकै आफ्नो गतिविधिलाई सक्रिय बनाएका छन् । हल्दरको काम वामपन्थीहरूको बढ्दो प्रभावलाई रोक्ने हुनेछ । त्यसैगरी आफ्नो मुलुकको सुरक्षालाई केन्द्रमा राखेर नेपालमा बसेर योजना बनाउने स्रोतको भनाई छ ।

घर फर्किन लागेका नेपालका ‘रअ’ प्रमुख जोहरीलाई कमाण्डिङ सम्हाल्न नसकेका कारण नेपालमा चीनको दबदवा बढेको, एमाले–माओवादी केन्द्रको बाम गठबन्धन बनेको, नेपाली कांग्रेस र माओवादीको गठबन्धन भत्किनबाट रोकन नसकेको, मधेस केन्द्रित दलहरूलाई राम्रोसँग परिचालन गर्न नसकेको, नेपालमा भारतविरोधी भावना बढाउन भूमिका खेलेको, केपी ओलीसँग पहिलाको सम्बन्ध विगारेको लगायतका आरोप लागेका छन् ।  — यूनाइटेड पोष्ट साप्ताहिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार