माओवादी मन्त्रीले विनाविभागीय बनेको ८६ दिनपछि राजीनामा दिँदै, किन दिन्निन् वातावरण मन्त्रीले

माकाठमाडौं,२८ पुस – माओवादी केन्द्रका मन्त्रीहरूले आठ महिनापछि शुक्रबार पदबाट सामूहिक राजीनामा दिने भएका छन् । बिहीबारै राजीनामा दिने भनिए पनि सार्वजनिक बिदा परेकाले शुक्रबारका लागि सरेको विनाविभागीयमन्त्री गिरिराजमणि पोखरेलले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ असोजमा नौ मन्त्री र सात राज्यमन्त्रीको जिम्मेवारी खोसेर विनाविभागीय बनाएका थिए ।

माओवादीका सबै मन्त्री र राज्यमन्त्रीले हस्ताक्षरसहित आफ्नो राजीनामापत्र पार्टी कार्यालयमा बुझाएका छन् । ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई सामूहिक राजीनामापत्र दिने तयारी गरेका थियौँ,’ पोखरेलले भने, ‘बिहीबार सार्वजनिक बिदा परेकाले राजीनामापत्र पार्टी कार्यालयमा बुझाएका छौँ । पार्टीले शुक्रबार प्रधानमन्त्रीलाई राजीनामापत्र बुझाउँछ ।’

नयाँ जनादेश आएलगत्तै प्रधानमन्त्री देउवाले राजीनामा नदिने देखेपछि नैतिकताका आधारमा राजीनामा दिन लागेको पोखरेलले बताए । ‘ताजा जनादेश आएलगत्तै नैतिकताका आधारमा छिटै प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ होला, किन हतारमा हामीले मात्र राजीनामा दिनुप¥यो भन्ने थियो,’ उनले भने, ‘तर, प्रधानमन्त्रीले राजीनामा दिन ढिलाइ गर्ने देखिएपछि हामीले राजीनामा दिएका हौँ ।’ आफूहरूले राजीनामा दिएमा प्रधानमन्त्रीलाई दबाब बढ्न सक्ने पोखरेलले बताए ।

निर्वाचन सुनिश्चितताका लागि सरकारमा
विनाविभागीयमन्त्री जनार्दन शर्माले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सुनिश्चितताका लागि आफूहरू सरकारमा बसेको बताए । ‘हामीले पहिले नै राजीनामा दिइसकेका थियौँ, वाम गठबन्धनले निर्वाचन सुनिश्चितताका लागि भए पनि राजीनामा दिनुहुँदैन भनेपछि रोकिएका थियौँ,’ शर्माले भने । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइसकेकाले सरकारबाट बाहिरिने निर्णयमा पुगेको उनको भनाइ छ ।

प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीलाई विनाविभागीय बनाउँदै राप्रपा अध्यक्ष कमल थापासहित आठजना मन्त्रीलाई नयाँ जिम्मेवारी दिएका थए । माओवादीका नौ मन्त्री र सात राज्यमन्त्रीलाई विनाविभागीय बनाए, तर प्रधानमन्त्री देउवाले जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीलाई जिम्मेवारीबाट हटाएका थिएनन् ।

एक साताभित्र मन्त्रीनिवास खाली गर्ने
माओवादीका सबै मन्त्रीले एक हप्ताभित्र मन्त्रीनिवास छोड्ने मन्त्री टेकबहादुर बस्नेतले बताए । ‘हाम्रा पार्टीका केही मन्त्रीहरू उपत्यकाबाहिर हुनुहुन्छ,’ उनले भने, ‘सबै मन्त्रीले निवास छोड्न कम्तीमा पनि एक हप्ता लाग्न सक्छ ।’ माओवादीका मन्त्री विनाविभागीय बनाइए पनि मन्त्रीनिवासमै बसेका थिए ।

यी हुन् माओवादी मन्त्री

उपप्रधानमन्त्री कृष्णबहादुर महरा, मन्त्रीहरू जनार्दन शर्मा, टेकबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, शिवकुमार मण्डल, आशा कोइराला, सन्तकुमार थारू र प्रभु साह, राज्यमन्त्रीहरू मोहम्द जाकिर हुसैन, राजसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुँवर र ओङदी शेर्पा

वातावरणमन्त्रीले राजीनामा नदिने
जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले भने राजीनामा नदिने भएकी छिन् । ‘माओवादी मन्त्रीहरूले सामूहिक राजीनामा दिँदै हुनुहुन्छ,’ मन्त्री चौधरीले भनिन्, ‘तर म निकट नेताहरूसँग छलफल गरेर मात्र राजीनामा दिने(नदिने निर्णयमा पुग्छु ।’

चौधरी नेकपा संयुक्तबाट मन्त्री भएकी थिइन् । संयुक्त र माओवादीबीच गत २५ असोजमा पार्टी एकता भएको थियो ।- नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार