सन् १९५० को सन्धि पुनरावलोकन गर्न छलफल सुरु, नेपालले उठायो कुरा

काठमाडौं, २८ पुस – नेपाल र भारतबीच भएका पुराना सन्धि सम्झौताको पुनरावलोकनका लागि सुझाव दिन गठित दुई देशबीचको प्रबुद्ध समूह (ईपीजी)को बैठक बिहीबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुँदै छ । ईपीजीको छैटौं बैठकमा सहभागी हुन नेपाली समूह नयाँ दिल्ली पुगेका छन् । नेपाली समूहका सदस्यमा भेषबहादुर थापा, सूर्यनाथ उपाध्याय, निलाम्बर आचार्य र डा. राजन भट्टराई छन् ।

हालसम्म भएका बैठकमा नेपाल–भारत शान्ति तथा मैत्री सन्धि सन् १९५० को पुनरावलोकनको विषयमा छलफल चल्दै आएको छ ।गत वर्ष असारमा भएको पहिलो बैठकदेखि नै दुई देशबीच भएका असमान सन्धि सम्झौता पुनरावलोकनका लागि छलफल चलिरहेको छ ।

२३ र २४ चैतमा काठमाडौंमा बसेको तेस्रो बैठकमा नेपालका तर्फबाट सन् १९५० को सन्धि, व्यापार तथा पारवहन सन्धि र जलस्रोतसम्बन्धी सन्धि सम्झौतामा नेपालका तर्फबाट संशोधन पेस भएको थियो । नेपालका तर्फबाट सदस्य निलाम्बर आचार्यले सन् १९५० को सन्धि असमान भएको भन्दै संशोधन प्रस्ताव पेस गरेका थिए ।

त्यस्तै, नेपालले बैठकमा व्यापार तथा पारवहन सन्धिका विषयमा समेत चासोसहित संशोधनको विषय उठाएको थियो । बैठकमा जलस्रोतमा नेपाल र भारतबीच भएको सन्धिको समीक्षा गर्दै अगाडि बढ्नुपर्ने भन्दै नेपालका तर्फबाट टिप्पणी प्रस्तुत गरिएको थियो ।

नेपालले सन् १९५० सन्धिको धारा २, ५, ६ र ७ परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेको छ । पछिल्लो समय परिवर्तित अवस्था र आयामबारे छलफल गर्दै सन्धिमा भएका असान्दर्भिक विषय परिवर्तन गर्न नेपालका तर्फबाट कुरा उठाउने बैठकमा सहभागी हुन जानुअघि ईपीजी सदस्य डा. राजन भट्टराईले राजधानीलाई जानकारी दिए ।

सन् १९५० को जुलाईमा नेपालका तर्फबाट राणा प्रधानमन्त्री मोहन शमशेर जबरा र भारतका तर्फबाट भारतीय राजदूत चन्द्रेश्वरनारायण सिंहले काठमाडौंमा हस्ताक्षर गरेका थिए । त्यतिबेला नेपाल संयुक्त राष्ट्रसंघको सदस्य थिएन ।

सन्धिको धारा ५ र ७ दुई सार्वभौम राष्ट्रको अस्तित्व स्वीकार नगरिएको र नेपाल यसबीचमा संयुक्त राष्ट्रसंघको सदस्य भएको, नेपालबाट शान्ति स्थापक सेनाहरूसमेत अन्तर्राष्ट्रिय स्तरमा सशक्त भएको लगायतलाई मध्यनजर गर्दै सन्धिमा पुनरावलोनको प्रस्ताव नेपालको छ ।

दुईवर्षे कार्यावधि लिएर गठन भएको ईपीजीको पहिलो बैठकदेखि नै नेपालले सन् १९५० को सन्धि पुनरावलोकनको विषय उठाउँदै आएको छ । दुई दिनसम्म चल्ने बैठकमा केही विषय टुंगोमा पुग्ने अपेक्षा नेपाली टोलीले लिएको छ । ‘केही विषयमा अन्तिम टुंगोमा पुग्ने गरी छलफल भइरहेको छ, केही विषयमा हामी छलफलमा छौं,’ उनले भने, ‘छलफलका विषयलाई अन्तिम टुंगोमा पु-याउँदै प्रतिवेदन लेखनलाई समेत अगाडि बढाउँदै छौं ।’

समूहको आगामी बैठक नियमित रूपमा सम्पन्न गरी बाँकी विषयलाई समेत समयमै टुंग्याउने गरी छलफल भइरहेको भट्टराईले बताए । नेपालले उठाएका विषयमा भारतीय समूहसमेत सकारात्मक रहेको उनको भनाइ छ । २१औं शताब्दीमा नेपाल र भारतबीचको जलस्रोत, बहुपक्षीय व्यापार, पारवहन, सामाजिक र सांस्कृतिक सम्बन्धको आधारहरूसमेत खोजिने उनले बताए ।

‘हालसम्म उठेको समग्र विषयलाई सम्बोधन गरेर लैजान भारतीय पक्ष पनि सकारात्मक छ,’ डा. भट्टराईले भने, ‘सीमा रेखांकन, सीमा स्तम्भलाई वैज्ञानिक ढंगबाट व्यवस्थित तुल्याएर अन्तर्राष्ट्रिय सीमाका रूपमा विकसित गर्न जरुरी छ, दशगजा क्षेत्रमा दुवैतर्फबाट मिचिरहेको अवस्था अन्त्य गर्ने तथा सुस्ता र कालापानीजस्ता गहन विषय सहमतिमा टुंग्याउने विषयमा पनि घनीभूत रूपमा सौहार्दपूर्ण तवरले छलफल अगाडि बढिरहेको छ ।’

दुईवर्षे कार्यकालसहित गठन भएको ईपीजीले आठौं बैठकपश्चात् दुवै देशका सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाउनुपर्नेछ । समूहले दुई देशबीचको सन्धि सम्झौता, सम्बन्ध, सीमा समस्या, व्यापारलगायतका विषयमा प्रतिवेदन प्रस्तुत गर्नेछ । यसैबीच ईपीजीका नेपाली टोलीले बैठकमा सहभागी हुन भारत जानुअघि प्रमुख दलका नेतासँग भेट गरी सुझाव लिएको थियो ।

टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेको थियो । प्रधानमन्त्रीले नेपाल तर्फका सदस्यहरूको टोलीलाई देश र जनताको हितमा अघि बढाउन भन्दै समूहको काममा सरकारको सहयोग रहने प्रतिबद्धता जनाए ।

त्यस्तै, समूहलाई माओवादी केन्द्रका अध्यक्ष दाहालले सन् १९५० को सन्धि असमान रहेको बताउँदै बदलिँदो परिस्थितिअनुसार नयाँ सन्धि गर्न‘पर्ने बताए । त्यसका लागिसकारात्मक पहल गर्न समूहलाई आग्रहगरेका थिए ।

गत असोजमा काठमाडौंमा सम्पन्न पाँचौं बैठकले छैठौं बैठक २५ र २६ कात्तिकमा दिल्लीमा हुने तय गरेको थियो । तर, नेपालमा हुने निर्वाचन र भारतीय टोलीका सदस्य जयन्तप्रसादको स्वास्थ्यका कारण अन्तिम समयमा बैठक स्थगन भएको थियो । समूहको म्याद सकिनुअघि (आगामी असारभित्र) तीनवटा बैठक बस्नुपर्ने हुन्छ ।

समूहमा भारतका तर्फबाट भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोसियारीको संयोजकत्वमा प्राध्यापक महेन्द्र पी लामा, प्रा. बीसी उप्रेती र पूर्वराजदूत जयन्तप्रसाद छन् ।  राजधानी दैनिकले समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार