धुलो हटाउन माग गर्दै महानगरपालिका अगाडि नेविसंघको धर्ना

काठमाडौँ, २८ पुस – नेपाल विद्यार्थी संघले धुलो, धुवाँरहित काठमाडौँ निर्माण गर्न माग गर्दै काठमाडौँ महानगरपालिका अगाडि एक घण्टा धर्ना दिएको छ । नेविसंघ काठमाडौँ शाखाको संयोजनमा आज काठमाडौँ महानगरपालिका सुन्धारा अगाडि एक घण्टा धर्ना दिएको हो ।

सफा सुन्दर काठमाडौँ शहर निरोगी भई बाँच्ने हाम्रो रहर, बनाउ राजधानी धुलोरहित बाँचाँै सबै खुशीसहित, धुलो धुवाँरहित वातावरण हाम्रो अधिकार व्यवस्थापकीय सम्बोधन महानगरको सरोकार, सरकार छ आफ्नै मस्तीमा जनता छन् धुवाँ र धुलोको सास्तीमा जस्ता प्लेकार्ड बोकेर धर्नामा बसेका हुन् ।

नेवि संघका उपाध्यक्ष नवीन राईले धुलो र धुवाँ काठमाडौँका जनताको साझा समस्या भएकाले यसलाई हटाउनका लागि नेविसंघले अभियान थालेको बताउनुभयो । “धुवाँ र धुलो नहटेसम्म हामी निरन्तर आन्दोलन गछौँ”, उहाँले भन्नुभयो ।

नेवि संघ उपाध्यक्ष उर्मिला थपलियाले स्वच्छ काठमाडौँ निर्माण गर्न महानगरले अनावश्यक कर उठाउने तर काम नगर्ने प्रवृत्ति बढेकाले त्यसको खबरदारीका लागि धर्ना अभियान सञ्चालन गरिएको बताउनुभयो ।

नेवि संघका नेता दीपक भट्टराईले महानगरलाई नमूना बनाउने अधिकार पाएको महानगर नै धुलो र धुवाँ हुँदा पनि चुप लागेर बसेकाले नेविसंघले खबरदारी अभियान चलाएको स्पष्ट पार्नुभयो ।

नेविसंघ काठमाडौँ अध्यक्ष मनोज वैद्यले स्थानीय सरकार निर्माण भएको नौ महिनामा पनि धुलो, धुवाँ हटाउने सवालमा केही काम नभएकाले दबाबस्वरुप उक्त अभियान सञ्चालन गरिएको बताउनुभयो ।

उपप्रमुखलाई धुलो र मास्क बुझाइयो

धर्नासँगै नेवि संघले महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीलाई काठमाडौँका विभिन्न भागबाट संकलन गरेर ल्याइएको धुलो र मास्क वितरण गरेका थिए । महानगरले बेवास्ता गर्दा दैनिक लाखौँ जनताले धुलो र धुवाँमा हिँड्नुपरेको भन्दै दबाबस्वरुप मास्क र धुलो वितरण गरेका हुन् ।

धुलो र मास्क बुझ्दै उपप्रमुख खड्गीले मेलम्ची खानेपानी काठमाडौँ उपत्यका ल्याउँदा खनिएका खाल्डोका कारण धुलो बढेको भन्दै यसलाई कम गर्न आफूहरुले सरोकारवालासँग छलफल गरिरहेको बताउनुभयो ।

उपप्रमुख खड्गीले धुलोमुक्त काठमाडौँ महानगरपालिकाको प्राथमिकतामा रहेको भन्दै मेलम्चीले खनेका खाल्डोलाई रातारात पुरेर कालोपत्र गर्न निर्देशन दिइसकिएको बताउनुभयो ।

धर्नामा नेवि संघका उपाध्यक्ष सागर परियार, कोषाध्यक्ष शिव रिमाल, नेताहरु हिमालदत्त श्रेष्ठ, मोती भण्डारी, सुशील तिमल्सेना, अर्जुन बम, एलिजा ढकाललगायतको सहभागिता रहेको थियो ।(रासस)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार