काठमाडौँ, २८ पुस – आज (शुक्रबार) बसेको मन्त्रिपरिषद्को बैठकले पनि प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्न सकेन । आजको बैठकले प्रदेशको राजधानी नतोकिएसम्मका लागि प्रदेशको कार्य सञ्चालन प्रारम्भ गर्न अस्थायी स्थान तोक्ने बताइएको थियो तर, त्यस्तो कुनै निर्णय भएन ।
प्रदेशसभाका सदस्यहरुलाई शपथ ग्रहण गराउने लगायतका प्रदेशको कार्य सञ्चालनसम्बन्धी अति जरूरी कार्यहरु तत्काल प्रारम्भ गर्नुपर्ने भएकाले सरकारले प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी रूपमा स्थान तोक्न आवश्यक तयारी गरेको थियो ।
आज बसेको बैठकले धनकुटाको खोकुछिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ । २०३६ साल कात्तिक २७ गते भएको घटनामा राज्य पक्षबाट १६ जना मारिएका थिए ।
त्यस्तै, बैठकले न्याय सेवाको विशिष्ट श्रेणीमा महेन्द्रनाथ उपाध्याय र पुनरावेदन समिति प्रमुखमा हेमराज पन्तलाई नियुक्त गर्ने निर्णय गरेको छ ।