आयोगको चेतावनीपछि सूची सच्याउँदै राजपा

काठमाडौं, ३० पुस — निर्वाचन आयोगको चेतावनीपछि राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रदेश २ को प्रदेशसभामा समानुपातिकबाट विजयी उम्मेदवारको सूची सच्याउन तयार भएको छ । आयोगले भनेअनुसार नै ‘क्रम’ मिलाएर सूची बुझाउने निर्णयमा राजपा पुगेको राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।

‘आइतबार कार्यालय खुल्नासाथ आयोगले भनेअनुसार नै सूची बुझाउनेछौं,’ यादवले भने । आयोगले सूची नसच्याए राजपाको परिणाम रोक्ने चेतावनी दिएको थियो । चेतावनीपछि राजपाका नेता शुक्रबार आयोगका अधिकारीलाई भेट्न पुगेका थिए ।

भेटपछि राजपाले आयोगसँग सूची सच्याउन केही दिन पर्खन आग्रह गरेको थियो । यसअघि आयोगले सूची सच्याउन बारम्बार आग्रह गरे पनि राजपाले अटेर गर्दै आएको थियो । समानुपातिकबाट राजपाले प्रदेश २ मा १० सिट पाएको छ ।

निर्वाचनअघि बुझाइएको सूचीमा पनि राजपाले क्लस्टर मिलाएको थिएन । आयोगले त्यतिबेलै आपत्ति जनाए पनि राजपाले सूची नसच्याई चुनावमा होमियो । राजपाले अहिले वरीयता सूची पनि आयोगले भने जसरी बुझाउन आनाकानी गर्दै आएको थियो ।

समानुपातिकको बन्दसूचीमा भएको ‘क्रम’ अनुसार नै प्रतिनिधि छनोट गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, राजपाले १० सिटमध्ये पहिलो ६ जनाको बन्दसूचीअनुसार छानेको थियो भने त्यसपछिका चार जनाका लागि क्रम मिचेको थियो । त्यसप्रति निर्वाचन आयोगले आपत्ति जनाएको हो । – कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार