काउन्सिलिङमा सहभागी अधिकांश विद्यार्थीले काठमाडौंको महाराजगन्ज मेडिकल कलेज र नेपाली सेनाको स्वयम्भूस्थित नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना हुन रुचाए । यी दुवै कलेजमा पूरा सिट भरिए पनि अन्य ६ वटा कलेजमा अझै सिट खाली छन् ।
काउन्सिलिङका क्रममा वीरगन्जको नेसनल मेडिकल कलेजमा भर्ना हुन एक जनाले पनि रुचि देखाएनन् भने जनकपुरको जानकी मेडिकल कलेजमा दुई जनाले मात्र भर्ना हुने चाहना राखे । अन्य ४ वटा कलेजका पनि थुप्रै सिट खाली रहे ।
ओपन हाउस काउन्सिलिङका क्रममा छानिएका विद्यार्थीले रोजेका कलेजमा एक साताभित्र अनलाइनबाट भर्ना हुनुपर्छ । आईओएमले यस वर्ष नेसनललाई ८१ र जानकीलाई ७२ सिट भर्ना कोटा दिएको छ । यो संख्या छात्रवृत्तिबाहेकको हो ।
यस्तै, भैरहवाको युनिभर्सल मेडिकल कलेजलाई ९०, ललितपुर ग्वार्कोको किस्ट मेडिकल कलेज, चितवन भरतपुरको चितवन मेडिकल कलेज र पोखराको गण्डकी मेडिकल कलेजलाई ८१–८१ सिट पूर्ण शुल्कको कोटा दिएको छ । नेपाली सेनाको कलेजले ९० सिट पाएको छ । विद्यार्थीको पहिलो रोजाइ महाराजगन्ज कलेज, दोस्रो सेना, तेस्रो पोखराको गण्डकी, चौथो किस्ट र पाँचौं युनिभर्सल परे ।
आईओएमका अनुसार युनिभर्सलमा २४ जना, किस्टमा ३४ जना, चितवनमा ६२ जना र गण्डकीमा ७ जनाले भर्ना हुने रुचि देखाएका छन् ।
आईओएमले बिहीबार ८ सय र शुक्रबार ८ सय विद्यार्थीलाई बोलाएर कलेज रोज्न लगाएको थियो । ‘भर्ना हुने सर्तमा आफूले पढ्न चाहेको कलेज छनोट गर्न दिइएको थियो,’ आईओएमको सूचनामा भनिएको छ, ‘काउन्सिलिङपछि सम्बन्धनप्राप्त कलेजहरूको भर्ना चिकित्साशास्त्र अध्ययन संस्थानबाटै अनलाइनमार्फत गरिने व्यवस्था छ ।’ भर्ना भएका विद्यार्थीको नामावलीसहितको विवरण आईओएमले सम्बन्धित कलेजमा पठाउने व्यवस्था मिलाइएको छ ।
कलेज छनोट गरेका विद्यार्थीले माघ ७ भित्र अनलाइनबाट भर्ना गरिसक्नुपर्ने सूचित गरिएको छ । त्यसका लागि सम्बन्धित कलेजको बैंक खातामा तोकिएको शुल्कको ५० प्रतिशत बुझाउनुपर्नेछ । समयावधिभित्र भर्ना नहुने विद्यार्थीले पुनः मौका नपाउने व्यवस्था आईओएमले गरेको छ ।
‘अनलाइन भर्ना फारम भरिसकेपछि आईओएमको परीक्षा नियन्त्रण महाशाखाबाट रुजु गराएपछि मात्रै भर्ना भएको मानिनेछ,’ आईओएमको सूचनामा भनिएको छ । सातवटा मेडिकल कलेजको खाता नम्बर पनि सूचनामै दिइएको छ ।
पहिलो दिन काउन्सिलिङमा सहभागी ८ सय जनाबाट महाराजगन्जको मात्रै पूरै कोटामा विद्यार्थी भेटिए । युनिभर्सलमा ४, किस्टमा ४, चितवन मेडिकल कलेजमा १८, नेपाली सेनाको कलेजमा ४८ र गण्डकीमा १ जनाले रोजेका थिए ।
जानकी रोज्ने पहिलो दिन पनि शून्य थियो, दोस्रो दिन ६६ र ६३ प्रतिशत ल्याएका दुई विद्यार्थीले जानकी नै रोजेका थिए । महाराजगन्ज मेडिकल कलेजमा ७८ प्रतिशतसम्म ल्याएकाले भर्ना पाएका छन् ।
‘विद्यार्थीले नरुचाउनु सम्बन्धित कलेजप्रति विद्यार्थी र अभिभावकको विश्वास नहुनु हो । त्यो कलेज पैसामा पारदर्शी छैन भन्ने यसले प्रस्ट पार्छ,’ मेडिकल शिक्षाविद् डा भगवान कोइरालाले भने, ‘यस्ता मेडिकल कलेज कुन दिन बन्द हुन्छन्, ठेगान नभएकाले पनि विद्यार्थीले नरुचाएका हुन् ।’
आईओएमको पछिल्लो विवाद, दोहोरो प्रवेश परीक्षाका कारण पनि धेरै विद्यार्थी अन्यत्र गइसकेको उनले अनुमान गरे । मेडिकल काउन्सिलका रजिस्ट्रार डा। दिलीप शर्माले विद्यार्थी भर्ना हुन नचाहेका कलेजलाई विद्यार्थीले आफ्नो फ्याकल्टी, अन्य पूर्वाधार सुधार गर्न र नियमित पठनपाठन गराउन पाठ सिकाएको बताए ।
विद्यार्थीहरू पैसा खर्च गरेर राम्रै कलेजमा पढ्न चाहन्छन् भन्ने मात्र होइन, उनीहरूको रोजाइले कलेजको स्टयान्डर्डसमेत बताइदिएको छ । कतिपय कलेजमा अनुगमन जाँदा पर्याप्त फ्याकल्टी र बिरामी देखाए पनि पढ्ने बेला नभएको विद्यार्थीलाई मात्रै थाहा हुन्छ । यसको असर भर्नाका बेला देखिएको हो ।
‘विगतको पढाइ र रिजल्ट राम्रो नभएको, शिक्षक राम्रा नभएको पनि यसले प्रस्ट हुन्छ,’ रजिस्ट्रार शर्माले भने, ‘१ हजार ६ सय विद्यार्थीमध्ये कमले मात्रै रुचाउनुले ती कलेजलाई सोच्न बाध्य बनाएको छ ।’ यस वर्ष विगतको जस्तो विदेश अध्ययन गर्न जाने पनि न्यून रहेको उनले बताए ।
यसअघि मेरिटका आधारमा भर्ना नहुने, महँगो शुल्क रहेकाले विद्यार्थी नपाएको भनिए पनि यसपालि त्रिविका कलेजमा सरकारले तोकेकै शुल्कमा पढाइ हँ‘दैछ । ‘छात्रवृत्तिमा अध्ययन गर्न परीक्षा दिएकाहरूले अर्को वर्ष कुरेको पनि हुन सक्छ,’ शर्माले भने । – कान्तिपुर दैनिक