बहस र समीक्षामा कमजोर बन्दै, कांग्रेस नेतृत्वको कमजोरीले गुटभित्र गुट

काठमाडौं, १ माघ — प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ अप्रत्याशित हार बेहोरेर तेस्रो शक्ति बनेको नेपाली कांग्रेसभित्र पराजयको विषयलाई लिएर आन्तरिक समीक्षा र बहस कमजोर बन्दै गएको छ ।कांग्रेसभित्रका आन्तरिक कमीकमजोरी र सुधारका सवालमा एकत्रित रूपमा बहस हुन नसकेपछि नेताहरू समूह बनाएर कोठे बहसमा मात्रै केन्द्रित छन् ।

दोस्रो संविधानसभा निर्वाचनमा पहिलो शक्ति बनेको कांग्रेसले एकातिर गुटबन्दीका कारण कमजोर बनेको आरोप लागिरहेको छ भने अर्कातिर सत्तामा रहँदा नीतिगत निर्णय गर्न चुकेका कारण पार्टी कमजोर बनेको आरोप छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसभित्र हरेक विषयमा निर्मम समीक्षाको कमी हुँदै गएको स्वीकार्दै पार्टीलाई जोगाएर लैजान नयाँ ढंगबाट सोच्नुपर्ने समय आएको बताए । ‘पार्टी झनझन् कमजोर हुँदै गएको छ, कमजोर किन भयो भन्ने समीक्षा हुन सकेको छैन, कार्यकर्तामा निराशा छ, अब नयाँ ढंगले सोच्नैपर्छ,’ नेता पौडेलले भने ।

उनले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भोगेको हारको समीक्षाका लागि आफूले सभापतिलाई पटकपटक केन्द्रीय समितिको बैठक बोलाउन आग्रह गरेको भए पनि सभापतिले ढिलाइ गरेको बताए । ‘मैले निर्वाचन सकिएलगत्तै हारको समीक्षा गरौं भनेको हो, पटकपटक भनिराखेको पनि छु, तर किन ढिला भइराखेको छ ? मैले बुझ्न सकिरहेको छैन,’ पौडेलले भने ।

केन्द्रीय सदस्य रामहरी खतिवडाले कांग्रेसलाई बनाउने र बचाउने दुवैतर्फको बहस आवश्यक रहेको बताए । उनले कुनै एक नेता वा व्यक्तिले मात्र पार्टीलाई जोगाउन नसक्ने भन्दै कहाँनेर चुक्यौं भन्नेमा एकठाउँ बसेर समीक्षा हुनुपर्ने बताए । नेता खतिवडाले विभिन्न गुट, उपगुट हुँदै समूहसमूहमा समेत नेताहरू छरिएर कोठे बैठक थालेका कारण तल्लो तहका नेता तथा कार्यकर्तामा निराशा छाएको समेत बताए ।

शीर्ष तहका नेताले कार्यकर्ताको भावना बुझ्न नसकेका कारण पार्टीभित्रको आन्तरिक समीक्षा र बहस कमजोर बन्दै गइरहेको उनको बुझाइ छ । निर्वाचनमा पार्टीले विगतमा गरेका राम्रा कामको प्रचार नेतृत्व तहबाट हुन नसक्दा र जनतालाई सोबारे बुझाउन नसक्दा पार्टीले पराजयको सामना गर्नुपरेको उनको निष्कर्ष छ ।

कांग्रेसभित्र १३औं महाधिवेशनपछि पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता पौडेल र तेस्रो शक्तिका रूपमा नेता कृष्णप्रसाद सिटौलाको गुट बढी चर्चामा छ । यस्तै, नेता खुमबहादुर खड्का समूहसमेत चर्चामा छ ।

पछिल्ला समयमा युवा नेताहरूले समेत छुट्टै बैठक राखेर नेतृत्वलाई घचघच्याउन थालेका छन् । केही समययता जिल्लास्तरका नेताहरूसमेत राजधानी आएर पार्टी नेतृत्वलाई दबाब दिन भन्दै बैठक बस्दै आएका छन् । केन्द्रीय समिति बैठकबाट निर्वाचनमा पराजय हुनुको कारणबारे समीक्षा नभएपछि यसअघि नै पार्टीका युवा नेताहरूले नेतृत्व फेर्ने बहस सुरु गरिसकेका छन् ।

युवाको साथ पाएका नेता पौडेल पछिल्ला दिन यस अभियानमा जोडिए पनि दोस्रो र तेस्रो तहका नेताहरू आफूअनुकूलका नेता कार्यकर्ता भेला गरेर कोठे बैठकमार्फत नीति र नेतृत्व पुनरावलोकनको बहसमा छन् । उनीहरू सभापति देउवाको विकल्पको खोजीमा रहँदा केही नेता भने देउवाका कारण हार नभएको भन्दै वाम गठबन्धनका कारण हार भएकाले नेतृत्वलाई दोष दिन नहुने भन्दै देउवा बचाउको अभियानमा समेत छन् ।

पार्टीभित्र गुट, उपगुट हुँदै समूह मौलाउँदै जान थाले पनि नेतृत्व पंक्तिले भने अझै गम्भीरता देखाउन सकेको छैन । पार्टी नेतृत्वको संरचना फेर्न दबाब आइरहेका बेला पार्टी प्रवक्ताको जिम्मेवारी हेरफेरबाहेक कुनै काम हुन नसकेको भन्दै युवापंक्ति नेतृत्वप्रति आक्रोशित बन्दै गएका छन् । — राजधानी दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार