https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

प्रदेश प्रमुख र अस्थायी केन्द्र आज तोकिने, कहाँ–कहाँ तोकिँदै छ ?

काठमाडौं, २ माघ – सरकारले मंगलबार सातै प्रदेशका प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेको छ। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोक्नुका साथै प्रदेशको कार्य सञ्चालन गर्ने गरी अस्थायी केन्द्र तोक्न लागेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने बताउँदै आए पनि सहमति जुट्न नसकेपछि यी दुवै निर्णय आफैँ गर्न लागेका हुन् ।

यही निर्णय गर्न देउवाले मंगलबार दिउँसो चार बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै माघ ४ सम्म प्रदेश प्रमुख नतोके माघ २४ गतेको राष्ट्रियसभा निर्वाचन प्रभावित हुने चेतावनी दिएपछि सरकारले मंगलबारै यो काम सक्न लागेको हो ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मंगलबार मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोक्ने बताए। ‘प्रदेश प्रमुख तोक्न गृहकार्य पूरा भएको छ, मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रमुख तोक्ने निश्चित हो’, उनले भने । प्रदेश प्रमुख कसलाई बनाउने भन्ने लगभग तय भइसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रदेश प्रमुखमा पूर्वसचिव एवं निर्वाचन आयोगका पूर्वआयुक्त दोलखबहादुर गुरुङ, मोहनराज मल्ल, अनुराधा कोइराला, रत्नेश्वरलाल कायस्थ, उमाकान्त झा, दुर्गाप्रसाद खनाललगायतलाई सिफारिस गर्ने गरी प्रस्ताव तयार भएको छ ।

कानुनमन्त्री थापाले राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्‍याएका र कुनै विवादमा नपरेका व्यक्तिलाई प्रदेश प्रमुख बनाइने बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार संविधानको धारा २८८ को उपधारा ३ बमोजिम प्रदेशको तत्काल कार्य सञ्चालनका लागि अस्थायी केन्द्र तोक्न लागिएको हो ।

केन्द्रका विषयमा प्रधानमन्त्रीले मंगलबार बिहान एकपटक आन्तरिक छलफल गरेर निर्णय लिने र साँझ मन्त्रिपरिषद्बाट टुंगो लगाउने बताइएको छ। देउवाले प्रदेशको केन्द्रसम्बन्धी खाका पनि तयार पारिसकेको स्रोतले जनाएको छ ।

जसअनुसार प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को काठमाडौं उपत्यका, प्रदेश ४ को पोखरा, प्रदेश ५ को लुम्बिनी क्षेत्र, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को धनगढी (अत्तरिया) आसपास केन्द्र तोक्न लागिएको छ। संविधानको धारा २८८ अनुसार प्रदेशको स्थायी राजधानी भने सम्बन्धित प्रदेशसभाको दुई तिहाई बहुमतले टुंगो लगाउने छ ।

राष्ट्रियसभा निर्वाचनका लागि माघ ७ मा मतदाता नामावली प्रकाशित गर्ने तालिका बनाइसकेको निर्वाचन आयोगले प्रदेश प्रमुख नियुक्ति नहुँदा प्रदेशसभामा चुनिएका समानुपातिक सांसदको परिणाम बुझाउन सकेको छैन । प्रदेश प्रमुखले शपथ खुवाएपछि मात्रै ती सांसदले कानुनी हैसियत पाउने प्रावधान छ । निर्वाचन आयोगले प्रदेश प्रमुख नियुक्ति, प्रमुख र प्रदेशसभा सदस्यको शपथग्रहणजस्ता काम माघ ४ भित्र सम्पन्न गर्न सरकारलाई आग्रह गरेको छ ।

प्रशासनिक संरचना तयार

सरकारले सातै प्रदेशमा रहने प्रदेश प्रमुख, मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालय र मन्त्रालयको खाकासहितको कार्यालय संरचना भने तयार पारिसकेको छ। मुख्यमन्त्री, प्रदेश प्रमुख र मन्त्रालयमा केन्द्रबाट आवश्यकताअनुसार सचिव, सहसचिव, उपसचिवदेखि कार्यालय सहयोगीसमेत गरी झन्डै २ हजारदेखि ३ हजार कर्मचारी खटाउने सरकारी तयारी छ। प्रदेश प्रमुखको सचिवालयमा सहसचिवको नेतृत्वमा कर्मचारी खटाइनेछ ।

सामान्य प्रशासन मन्त्रलायका प्रवक्ता सहसचिव शिवराम न्यौपानेले प्रदेशको संरचनाको प्रारुप तयार पार्दै कर्मचारी व्यवस्थापन गर्ने गृहकार्य अघि बढाइएको जानकारी दिए । प्रवक्ता न्यौपानेले सरकारले प्रदेश प्रमुख नियुक्त तथा अस्थायी मुकाम तोक्नासाथ त्यहाँ आवश्यक पर्ने जनशक्ति पठाउने बताए । मुख्यमन्त्रीको कार्यालयको प्रशासनिक प्रमुखमा सचिवस्तरको कर्मचारीलाई प्रदेश प्रमुख सचिवको रूपमा खटाउने तयारी गरिएको छ । – अन्नपूर्ण पोष्ट दैनिक

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार