http://jagdambacement.com/

देउवालाई घेर्न पौडेलदेखि सबै गुटका नेताहरूको यस्तो छ भित्री तयारी

काठमाडौं, ३ माघ – कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । चुनावी समीक्षासहित राष्ट्रिय सभा निर्वाचनमा उठाउने उम्मेदवारका विषयमा छलफल गर्न बिहीबार बिहान ११ बालुवाटारमा कांग्रेस बैठक बस्नेछ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रिय सभाको निर्वाचन र पार्टीले व्यहोरेको पराजयको विषयमा समीक्षा गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाइएको जानकारी दिए ।

‘राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने समय नजिक आइसकेको छ । केन्द्रीय समिति बैठकले उम्मेदवार छान्ने मापदण्डसहितका विषयमा केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समितिलाई निर्देश गर्छ,’ शर्माले नयाँ पत्रिकासँग भने, ‘राष्ट्रिय सभाका लागि यी विषयमा थोरै समय लाग्छ । तर, बढी समय निर्वाचनमा हारको व्याख्या, चर्चा–परिचर्चा, समीक्षा, गम्भीर आत्मसमीक्षाको चरणमा बैठकमा छलफल हुन्छ ।’

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले बेहोरेको अस्वाभाविक हारका विषयमा समीक्षा गर्न कांग्रेसमा केन्द्रीय समिति र महासमिति बैठकको माग हुँदै आएको थियो । नेता रामचन्द्र पौडेलले भेटेरै छिटो केन्द्रीय समिति बैठक बोलाएर निर्वाचनको समीक्षा गर्न सोमबार सभापति देउवासँग आग्रह गरेका थिए । सोही भेटमा देउवाले सम्भव भए बुधबार नभए बिहीबार बैठक बोलाउने आश्वासन दिएका थिए ।

पटक–पटक बस्न सक्ने

निर्वाचनमा बेहोरेको हारबारे गम्भीर समीक्षाका लागि कांग्रेसमा अधिकांश केन्द्रीय सदस्य बोल्ने तयारीमा छन् । नेता रामचन्द्र पौडेल पक्षदेखि सबै गुटमा रहेका युवा नेताले चुनावी समीक्षासहित पार्टीले लिनुपर्ने दिशाबारे लिखित अवधारणा नै प्रस्तुत गर्ने तयारी गरेका छन् ।

जसका कारण समीक्षा बैठक लामै समय चल्ने देखिएको छ । प्रवक्ता शर्माले बैठक ६–७ दिनसम्म चल्न सक्ने बताए । ‘पटकपटक गरेर होला, एक–दुई दिनको अन्तरमा होला, तर सदस्यले बोल्न चाहेको जति समय दिएर भए पनि समीक्षा बैठक चल्छ ।’

युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, गुरुराज घिमिरे, जीवन परियार, बद्री पाण्डे, उमेशजंग राजमाझीसहतिका नेताले निर्वाचनका समीक्षा हुनुपर्ने माग गर्दै आएका छन् ।

केन्द्रीय समिति, महासमिति बैठक बोलाएर पार्टी पराजयपछिको रणनीति तय गर्नुपर्ने उनीहरूको भनाइ छ । साथै, प्रभावशाली नेताहरू पनि कांग्रेसमा गम्भीर आत्मसमीक्षा गर्दै पार्टीलाई पुनर्जीवन दिनुपर्ने पक्षमा छन् । – नयाँपत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार