प्रदेश सांसदकाे शपथ ग्रहण सुरु: प्रदेशसभा ज्येष्ठ सदस्यद्वारा शपथग्रहण

काठमाडौं, ७ माघ – सातै प्रदेशका प्रदेशसभामा निर्वाचित प्रदेश सांसदको शपथ ग्रहण आइतबार हुँदैछ । सातवटै अस्थायी राजधानीमा प्रदेश प्रमुख पुगेसँगै शपथ ग्रहणको तयारी भएको हो । संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथग्रहण गराउने भएका छन् ।

सरकारले निर्वाचन सम्पन्न भएको डेढ महिनापछि प्रदेशप्रमुख नियुक्त गरेलगत्तै निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम नतिजा बुझाएको थियो । आयोगले माघ २४ गते तोकिएको राष्ट्रिय सभा निर्वाचनको कार्यक्रम आइतबारदेखि नै सुरु हुने भएकाले सबै प्रदेशसभा सदस्यको शपथ आइतबारै सम्पन्न गर्नुपर्नेछ । प्रदेशसभा सदस्य राष्ट्रिय सभा निर्वाचनको मतदाता रहेकाले प्रमुख नियुक्तिलगत्तै हतार–हतारमा शपथग्रहणको कार्यक्रम राखिएको हो ।

आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आइतबारै मतदाता नामावली सार्वजनिक गर्नुपर्ने छ । त्यसैले शपथका लागि रातारात तयारी गरिएको हो । सपथ ग्रहणका लागि राजधानीमा रहेका सबैजसो प्रदेश सांसद आ–आफ्नो प्रदेशमा पुगिसकेका छन् ।

प्रदेश नम्बर १ बाट प्रदेशसभामा निर्वाचित सदस्यहरूलाई विराटनगरस्थित वीरेन्द्र सभागृहमा प्रदेश प्रमुख डा गोविन्द सुब्बाले शपथ गराउने छन्। आइतबार बिहान १० बजे प्रदेशसभा सदस्यहरूको शपथग्रहण कार्यक्रम हुने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए।

यसैगरी २ नम्बर  प्रदेशकाे प्रदेशसभा सदस्यलाई जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा प्रदेश प्रमुखले शपथ गराउने भएका छन्।
जनकपुरस्थित शैक्षिक तालिम केन्द्रमा प्रदेशसभा बैठक सञ्चालन गर्ने सरकारले तयारी गरेको छ।

मुख्यमन्त्रीको कार्यालय र मन्त्रालय पनि सोही स्थानमा राख्ने तयारी छ। प्रदेशसभा बैठक कक्ष तयार भइनसकेकाले प्रदेश सदस्यहरुलाई शपथ गराउन जनकपुर उद्योग वाणिज्य संघको सभा हल प्रयोग गर्न लागिएको धनुषाका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए।

प्रदेश ३ का १ सय १० सांसदलाई हेटौंडास्थित प्रदेश सचिवालयमा आइतबार बिहान ११ बजे शपथ प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ गराउने भएकी छन्। क्षेत्रीय शिक्षा निर्देशनालय, हेटौंडाको भवनलाई प्रदेश सचिवालय बनाइएको छ। मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयलाई प्रदेश प्रमुख कार्यालय बनाइएको छ ।

प्रदेश ३ का मुख्यमन्त्री र मन्पिरिषद्को कार्यालय जिल्ला समन्वय समितिको कार्यालयमा, सभामुख र उपसभामुखको कार्यालय किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा राखिएको छ । प्रदेशसभा बैठक कक्षका लागि वासुदेव सभा गृहमा पूर्वाधार निर्माण जारी छ।

प्रदेश–४ का प्रमुख बाबुराम कुँवरले पोखरास्थित क्षेत्रीय प्रशासन कार्यालय सभा हलमा प्रदेशसभा सदस्यलाई शपथ गराएका छन्।प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले आज पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालय पार्दी पोखरामा प्रदेश प्रमुख बाबुराम कुँवरले उहाँलाई शपथग्रहण गराउनुुभएको हो । समारोहमा क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल,पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, प्रदेश कार्यालयका सचिव देवीप्रसाद ज्ञवालीलगायतको उपस्थिति रहेको थियो । ज्येष्ठ सदस्य श्रेष्ठले आजै प्रदेश नं ४ का प्रदेश सभा सदस्यहरुलाई शपथग्रहण गराउने कार्यक्रम रहेको छ ।

प्रदेश–५ नम्बर प्रदेशसभामा निर्वाचित सदस्यलाई बुटवलस्थित उद्योग वाणिज्य संघको सभाहलमा शपथ गराइने भएको छ। प्रदेश प्रमुख उमाकान्त झाले शपथ गराउने भएका छन्।

प्रदेश प्रमुखको सचिवालयका लागि रुपन्देही व्यापार संघको भवन प्रयोग गरिनेछ । त्यसैगरी प्रदेश प्रमुखको निवास सीप विकास तालिम केन्द्रमा रहने व्यवस्था मिलाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए।

प्रदेशसभा ६ का सांसदहरूलाई आइतबार बिहान ११ बजे प्रदेश शपथग्रहण कार्यक्रम निर्धारण गरिएको छ। अधिकांश सांसदहरू काठमाडौंमै भएकाले उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत लगिनेछ।

त्यस्तै प्रदेश ७ का सांसदलाई कैलाली जिल्ला समन्वय समितिको हलमा प्रदेश प्रमुखले शपथ गराउनेछन्। कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार सबै तयारी पुरा भइसकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार