सुर्खेत, ९ माघ — प्रदेश ६ मा एमालेले आफ्नै नेतृत्वमा सरकार गठनको कसरत थालेको छ । गठबन्धनको भागबन्डामा प्रदेश नेतृत्व माओवादी केन्द्रले पाउने चर्चा चले पनि एमाले संसदीय दलको बैठकले प्रदेश सरकारको नेतृत्व नछाड्ने निर्णय गरेको हो ।
संसदीय दलले प्रदेशसभामा एमालेको एक्लै ५० प्रतिशत अर्थात २० जना सांसद रहेको र एकल सरकार गठन गर्नसक्ने स्थिति रहेको निष्कर्ष निकालेको छ ।
सोमबार वीरेन्द्रनगरमा बसेको प्रदेशसभा संसदीय दलको पहिलो बैठकले पार्टीकै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो । प्रदेशसभाका सांसद यामलाल कँडेलको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले एमालेकै नेतृत्वमा सरकार गठन गर्न केन्द्रको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
प्रदेशमा आफ्नो सहभागिताबिना सरकार गठन हुन नसक्ने भएपछि एमाले संसदीय दलले एकल सरकार गठन र सञ्चालन गर्न सक्ने दाबी पार्टी केन्द्रमा पेस गरेको हो ।
प्रदेश ६ को एमाले संगठन कमिटीले यसअघि नै प्रदेश सरकारको नेतृत्वमा औपचारिक दाबी गरिसकेको छ । प्रदेश संसदीय दलको निर्णयसँगै यो प्रदेशमा एमालेले आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास थालेको छ । संसदीय दलको निर्णयबारे जानकारी दिँदै एमाले नेता कँडेलले भने, ‘हामीले एक्लै सरकार बनाउने अवस्था छ, हाम्रो सहभागिताबिना सरकार नै गठन हुन सक्दैन । हामीले आफ्नै नेतृत्वमा सरकार बनाउने हो, यसका लागि केन्द्रमा पनि गम्भीर ध्यानाकर्षण गराएका छौं ।’
यो प्रदेशसभामा जम्मा ४० जना सांसद छन्। तीमध्ये एमालेसँग आधा अर्थात २० जना सांसद छन् । माओवादीसँग १३, कांग्रेससँग ६ र राप्रपाका १ जना सांसद छन् । सरकार गठन गर्न २१ सांसद चाहिन्छ । एमालेबाहेक अरु सबै दल मिले पनि सरकार गठन गर्न बहुमत पुग्दैन । एमालेले सरकार गठन गर्न बहुमत पुर्याउन १ जना सांसद भए पुग्छ । एमालेले राप्रपाका १ जना सांसदको समर्थन लिए एकल सरकार बनाउन सक्ने एमालेकै नेताहरू बताउँछन् ।
यो स्थितिको आकलन गरेरै एमाले संसदीय दलले सरकारको नेतृत्व नछाड्ने अडान लिएको हो । ‘पार्टी एकताको सर्त भागबन्डा हुन सक्दैन, अझ एउटै पार्टी भएपछि केका लागि भागबन्डा गर्ने ? ‘, एमाले प्रदेश ६ का सहसंयोजकसमेत रहेका नेता कँडेलले भने, ‘प्रदेशमा पार्टीका सबै उम्मेदवार जिताएका छौं, एक्लै सरकार बनाउने हैसियत बनेको छ । नेतृत्व अरुलाई सुम्पने विषय मान्य हुँदैन, आफ्नै नेतृत्वमा सरकार बनाउन कसरत गर्नेछौं ।’
सरकारको नेतृत्व नछाड्ने निर्णय गरे पनि बैठकले संसदीय दलको नेता छनोट गर्न सकेन । संसदीय दलको नेतामा नेता कँडेल र प्रकाश ज्वालाले रुची देखाएका छन् । संसदीय दलको नेता छानिए मुख्यमन्त्री बन्ने बाटो खुल्ने भएकाले पनि कँडेल र ज्वाला दुवैले दलको नेतामा रुची देखाएका हुन् । पार्टीका प्रदेश संयोजकसमेत रहेका उपाध्यक्ष युवराज ज्ञवाली बैठकमा उपस्थित हुन नसकेपछि दलको नेता छनोट हुन नसकेको बताइएको छ ।
नेता कँडेलले पहिलो बैठक आफ्नो अध्यक्षतामा बसिसकेकाले संसदीय दलको नेताका लागि अब कुनै समस्या नरहेको दाबी गरे । केही दिनभित्रै औपचारिक रूपमा दलको नेता चयन हुने कँडेलले बताए । बैठकले प्रदेशका कुनै पनि जिल्ला हालसम्म काठमाडौंसँग सिधा हवाई सेवामा नजोडिएकाले तत्काल नेपाल वायु सेवा निगम र निजी हवाई कम्पनीलाई काठमाडौंदेखि सुर्खेतसम्म सिधा हवाई सेवा सञ्चालन गर्न आग्रह गरेको छ । बैठकले प्रदेशको राजधानी सुर्खेतबाट अन्य जिल्लामा तत्काल हवाई उडानका लागि पहल गर्ने निर्णय गरेको छ ।— अन्नपूर्ण पोष्ट दैनिक