काठमाडौं, १० माघ — सरकारले निजी व्यवसाय वा फर्म दर्ता गर्दा महिला, दलित र विपन्न वर्गलाई दर्ता शुल्कमा सहुलियत दिने भएको छ । वुधबार बसेको मन्त्रिपरिषद बैठकमा वाणिज्य मन्त्रालयले राखेको प्रस्ताव स्वीकृत भएसँगै महिला, दलित र विपन्न वर्गले व्यवसाय वा फर्म दर्ता शुल्कमा सहुलियत पाउने भएका हुन् ।
बैठकपछि वाणिज्यमज्त्री मीनबहादुर विश्वकर्माले भने, ‘महिला, दलित, विपन्न वर्ग (विपन्न वर्गको परिचयपत्र भएको व्यक्ति)ले व्यवसाय दर्ता गर्दा एक करोडसम्म पुँजी भएको फर्मलाई शून्य दस्तुर र त्यो भन्दामाथि पुँजी भएको कम्पनी दर्ता वा फर्म दर्ता गर्न चाहेमा ५० प्रतिशत दस्तुर छुट दिने निर्णय गरिएको छ ।’
नेपाल सरकारले कम्पनी ऐन, २०६३ को व्यवस्था अनुसार निजी कम्पनी दर्ता गर्न पुँजी हेरी दस्तुरहरु तोकेको छ । एक करोड पुँजी भएको कम्पनी दर्ता गर्न १६ हजार दस्तुर तोकिएको छ । दुई करोडको १९ र तीन करोडको २२ हजार तोकिएको छ भने, १० करोड पुँजी भएको कम्पनी दर्ता गर्न ४३ हजार दस्तुर तोकिएको छ ।