http://jagdambacement.com/

राष्ट्रियसभा निर्वाचनलाई सफल बनाउन आयुक्त यादवको आह्वान

काठमाडौं, ११ माघ – प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको मतपरिणाम छिटोभन्दा छिटो सार्वजनिक गरिने बताएका छन् । राष्ट्रियसभा निर्वाचनमा भाग लिने राजनीतिक दलका प्रतिनिधिलाई आयोजित मतदान तथा मतगणनासम्बन्धी प्रशिक्षणमा  सम्बोधन गर्दै यादवले मतदातालाई मतदानमा आफ्नो विवेक प्रयोग गर्न आह्वान गरे ।

आयुक्त यादवले भने, “निर्वाचनको इतिहासमा एकै वर्ष स्थानीय निकाय तथा प्रतिनिधिसभा–प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भइसकेका छन्, ठूला नदी पार गरिसकियो, अब खोल्साखाल्सी तर्न बाँकी छ, यसलाई पनि सहजतापूर्वक पार गर्नुपर्छ । म राजनीतिक दलहरुसित राष्ट्रियसभा निर्वाचनलाई सफल बनाउन आह्वान गर्छु ।”

राष्ट्रियसभाको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्ने आयोगको कार्यमा सहयोग पु¥याउन आग्रह गर्दै उनले निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दलसँग अनुरोध गरे । कार्यक्रममा आयोगले दलका प्रतिनिधिलाई मतपत्रको ढाँचा, मतदानको तरिका, मतदान प्रक्रिया, मतगणनालगायत विषयमा प्रशिक्षण दिनेछ । प्रशिक्षणमा नेकपा एमाले, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली काँग्रेसलगायतको सहभागिता थियो ।

राष्ट्रियसभाको निर्वाचन प्रयोजनका लागि यही माघ १२ गतेदेखि निर्वाचन आचारसंहितासमेत लागू हुने आयोगले जनाएको छ । निर्वाचनमा दुई हजार ५६ मतदाता छन् । निर्वाचनका लागि सबैभन्दा बढी मतदाता प्रदेश नं २ र सबैभन्दा कम प्रदेश नं ६ मा छन् । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिकानुसार यही माघ ७ गते सातै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन गरेको छ ।

सोअनुसार प्रदेश नं १ मा ३६७, प्रदेश नं २ मा ३७९, प्रदेश नं ३ मा ३४८, प्रदेश नं ४ मा २३०, प्रदेश नं ५ मा ३०५, प्रदेश नं ६ मा १९८ र प्रदेश नं ७ मा २२९ मतदाताछन् । आयोगको निर्वाचन तालिकानुसार माघ १० गते उम्मेदवारको मनोनयन दर्ता, माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र माघ २४ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ ।

आयोगले प्रदेश नं १ को मोरङ, विराटनगर, प्रदेश नं २ को धनुषा, जनकपुरधाम, प्रदेश नं ३ को ललितपुर, पाटन, प्रदेश नं ४ को कास्की, पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन गरेको छ ।

निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ५०६ र सात प्रदेशबाट निर्वाचित प्रदेशसभा सदस्य ५५० गरी दुई हजार ५६ मतदाताले मताधिकार प्रयोग गर्ने बताइएको छ ।

स्थानीय तहमा ७१८ महिला र ७८८ पुरुष तथा प्रदेशसभामा पुरुष ३६१ र महिला १८९ मतदाता छन् । निर्वाचनका लागि सात स्थानमा १४ मतदान केन्द्र रहनेछन् । निर्वाचनमा प्रदेशसभाका सदस्यको मतभार ४८ र स्थानीय तहका पदाधिकारीको मतभार १८ हुने आयोगले जनाएको छ । राष्ट्रियसभाको गठन एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार