काठमाडौं, ११ माघ – प्रधानमन्त्री शेरबहादुर देउवाले देशको सीमा एक इन्च पनि मिच्न नदिने उद्घोष गरेका छन् । प्रधानमन्त्री देउवाले आफूले कुनै पनि विदेशी शक्तिले देशको भूमी मिच्न नदिने स्पष्ट पारेका हुन् । दुई विद्यार्थी संगठनले पर्साको छपकैयामा नेपाली भूमि मिचेर भारतीय पक्षले सीमा स्तम्भ गाडेको घटनाबारे गरेको स्थलगत अध्ययन प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले यस्तो उद्घोष गरेका हुन् ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवालाई भेटेर अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीका नेताहरुले नेपाली भूमि मिचिएको विषयमा ध्यानाकर्षण गराउँदै सुझावसहितको प्रतिवेदन बुझाएका थिए ।
दुई विद्यार्थी संगठनले सरकारलाई बुझाइएको १० बुँदे सुझावपत्रमा कालापानी र सुस्ता बाहेक सबैतिर सीमा विवाद सुल्झिएको सरकारी दाबी आधारहीन भएकाले सीमा विवादको समग्र समाधान खोज्न आग्रह गरिएको छ ।
सीमामा बनेका साना–ठूला ५७ वटा तटबन्धन अविलम्ब व्यवस्थित गर्न माग गर्दै विद्यार्थी संगठनले भारतीय पक्षले अतिक्रमण गरी बनाएका सबै संरचना भत्काएर दसगजा सुरक्षित गर्न सुझाव दिएका छन् ।