दलहरू एकअर्कासँग झुक्न सकेमा नेपालले कसैका सामू झुक्न पर्दैन्— प्रवक्ता शर्मा

काठमाडौं, १२ माघ — पोखरामा शुक्रबार आयोजित सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को १३ औं वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिक दलहरुले एकले अर्कोसँग विनम्रतासँग झुक्न सक्ने सामथ्र्यको विकास गर्न सके नेपालले कसैका सामू झुक्न नपर्ने बताएका छन् ।

‘‘राजीनीतिक दलहरूले अगाडि बढ्दै गर्दा एकले अर्कासँग सिक्न सक्ने सामथ्र्यको विकास गरेको नेपालले कसैसँग सिक्न पर्ने छैन्’’ उनले भने, ‘‘एउटा दलले अर्को दलसँग विनम्रतापूर्वक झुक्न सक्ने सामथ्र्यको विकास गरेमा नेपाल देशले कहिल्यै पनि कोही अरू देशसँग झुक्न पर्दैन ।’’

सामुदायिक रेडियोहरूले समुदायको शक्ति ग्रहण गरेर अघि बढेर थुप्रै सफलता हासिल गरेको उदाहरण दिँदै कांग्रेस प्रवक्ता शर्माले समुदाय र समुदायको शक्तिसँगसँगै चल्ने अभिमत र मनोविज्ञान दलहरुले ग्रहण गर्नु पर्नेमा जोड दिए ।

उनले दलहरुको एकआपसको सहकार्यले नेपालले धेरै उपलब्धि हासिल गरेको भन्दै दलहरुबीचको सहकार्य टुट्दा जनतामा अत्यन्तै निराशा छाएको पनि बताए । साधारण सभामा देशभरीका तीन सय बढी सामुदायिक रेडियोका सञ्चालकहरुको सहभागिता रहेको अकोराबका केन्द्रीय सदस्य रमेश जोशीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार