गंगामायाले फेरि थालिन् अनसन

छोराको हत्यारालाई कारबाही गर्नुपर्ने मागसहित १३ वर्षदेखि सत्याग्रहमा होमिएकी गोरखा, फुजेलकी ६१ वर्षे गंगामाया अधिकारीले सहिद दिवसका अवसर पारेर मंगलबारदेखि फेरि आमरण अनशन सुरु गरेकी छन् । लामो समयदेखि सरकारको निगरानीमा वीर अस्पतालमा राखिएकी उनले अस्पतालकै बेडबाट अन्नपानी छाडेको घोषणा गरेकी हुन्, कान्तिपुरमा खबर छ ।

‘जबसम्म मलाई न्याय दिइँदैन तबसम्म खान्नँ,’ उनले भनिन्, ‘बरु मेरो प्राणै जाओस्, माग पूरा नभएसम्म आन्दोलन तोड्दिनँ ।’ अघिल्ला सत्याग्रहमा उनका साथमा पति नन्दप्रसाद पनि हुने गर्थे । मुखमा अन्नपानी नपरेको तीन सय साठी दिनपछि वीर अस्पतालमै २०७१ असोज ६ गते उनको निधन भएको थियो । त्यस बेला गंगामायाको हालत पनि नाजुक थियो । शारीरिक कमजोरीले बोल्नसम्म नसक्ने अवस्थामा पुगेकी उनलाई मानव अधिकारवादी र चिकित्सकहरूले सुरुमा पानी, फलफूलको रस र झन्डै एक महिनापछि दूध तथा दालको झोल खुवाएर ब्युँताइदिएका थिए ।

केही दिनयता गंगामायाको स्वास्थ्य बिग्रँदै गएपछि चिकित्सकले जाँचका लागि रगत लिने प्रयास गरिरहेका थिए । तर, उनले आफू अब अनशन बस्ने भन्दै रगत झिक्न नदिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन् । उनमा जीउ पोल्ने, छाती दुख्ने र दाहिने खुट्टाको एउटा पाटोमा स्पर्सको अनुभव कम हुने समस्या देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार