प्रदेश ३ को पहिलो संसद बैठक शुरु, डोरमणिले गरे अध्यक्षता

पहिलो ऐतिहासिक प्रदेशसभा बैठक हैटौंडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयमा शुरु भएको छ ।

सभाको अध्यक्षता जेष्ठ सदस्य डोरमणि पौडेलले गरेका छन् । बैठकको शुभारम्भमा पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालाले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाएका छन् ।

त्यसपछि ज्ञात अज्ञात शहीदको सम्झनामा एक मिनेट मौन धारण गरी बैठक अघि बढेको छ । बैठकमा दलहरूको तर्फबाट धारणा राख्नेक्रम जारी छ । यसक्रममा एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्यले धारणा राखेकी छन् ।

बैठकस्थलमा सुरक्षा जाँच गरी प्रवेशको व्यवस्था मिलाइएको छ भने तोकिएका र प्रवेश पास लिएका व्यक्तिलाई मात्र प्रवेश दिइएको छ ।

संघीयता लागूपछिकै पहिलो प्रदेशसभा बैठक भएकाले बैठकस्थलमा उच्च कर्मचारी, सुरक्षाकर्मी, स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मीको उपस्थिति बाक्लो छ । बैठकले सभामुखका निर्वाचनका लागि मिति तय गर्नेछ । यस प्रदेशसभाका कूल ११० सदस्य छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार