वामदेव गौतमले दिए यस्तो चेतावनी: वाम एकता नभए कम्युनिष्ट आन्दोलनले ठूलो क्षति बेहोर्छ

काठमाडौं, २२ माघ –  एमाले उपाध्यक्ष वामदेव गौतमले वाम एकताका लागि एमाले बढी जिम्मेवार हुनुपर्ने बताएका छन् । प्रेस चौतारीको २०औँ स्थापनाको अवसरमा आयोजित कार्यक्रममा गौतमले ठूलो दल भएको नाताले एमाले बढी जिम्मेवार र लचिलो हुनुपर्नेमा जोड दिएका हुन् ।

‘एकताका लागि एमाले र माओवादी दुवै जिम्मेवार हुनुपर्छ । ठूलो दलको नाताले जसअपजसको बढी भागिदार एमाले नै हुन्छ’ गौतमले भने ‘एकताका लागि नेता मात्रै होइन, कार्यकर्ता पनि जिम्मेवार हुनुपर्छ ।’

वाम एकता हुन नसके कम्युनिष्ट आन्दोलनमा अहिलेसम्मकै ठूलो क्षति हुने गौतमको तर्क छ । उनले एकता प्रक्रियामा केही समस्या रहेको समेत जानकारी दिए । तर उनले समस्या भने खुलाउन चाहेनन् । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने र नयाँ ढंगबाट काम हुने गौतमले बताए ।

कार्यक्रममा एमाले सचिव तथा प्रवक्ता योगेश भट्टराईले वामपन्थी एकता समयको आवश्यकता भएको बताए । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले एकता भाड्न देशीविदेशी शक्ति लागेपनि वाम एकता भएरै जाड्ने बताइन् । – नयाँ पत्रिका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार