पोखरामा शुरु भयो प्रदेश ४ को प्रदेशसभा बैठक, उपस्थित छैनन् दीपक मनाङे

प्रदेश नम्बर ४ को पहिलो प्रदेशसभा बैठक पोखरामा शुरु भएको छ । बैठक पोखराको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा बिहान ११ बजेबाट शुरु भएको हो । बैठकको अध्यक्षता ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले गरेका छन् ।

बैठकमा अहिले दलका प्रतिनिधिहरुले मन्तव्य राखिरहेका छन् । प्रत्येक ठूला दलबाट तीन/तीनजना (कम्तीमा एकजना महिलासहित) र साना दलबाट एक/एकजना गरी ११ जनाले मन्तव्य दिने कार्यक्रम छ ।

यो प्रदेशमा ११ जिल्लाबाट ३६ प्रत्यक्ष र २४ जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका ६० जना सांसद् छन् । जसमध्ये नेकपा (एमाले)का २७, नेपाली कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का १२, जनमोर्चाका ३, नयाँ शक्तिका दुई र स्वतन्त्र एकजना सांसद छन् ।

प्रदेशसभाका ६० जना सदस्यमध्ये मनाङ १ (ख)बाट निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेले भने हालसम्म शपथ लिएका छैनन् । शपथ नै नलिएका कारण उनी बैठकमा सहभागी छैनन् ।

प्रदेशको बैठकलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेशसभाको सुरक्षाका लागि प्रहरी निरीक्षक लीलाराज लामिछानेको नेतृत्वमा चारजना महिलासहित १६ जना मर्यादापालक खटाइएको छ । प्रदेशसभाको बैठकलाई सुव्यवस्थित गर्न आवश्यक जनशक्ति, पूर्वाधार, प्रविधि र सुरक्षाको पूर्ण तयारी भइसकेको संघीय संसद् सचिवालयबाट अनुगमनका लागि आउनुभएका प्रवक्ता भरतराज गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार