राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नंं. ७ काे मतगणाना सकिएकाे छ । ८ सीटमध्ये २ सीटका लागि भएकाे मतदानमा वामगठबन्धनका दुई जना विजयी भएका छन् । आज सम्पन्न निर्वाचनबाट अल्पसंख्यक र अपांगतर्फ नेकपा माओबादी केन्द्रका महेश कुमार महरा र दलिततर्फ एमालेका चक्रप्रसाद स्नेही बिजयी भएका हुन् ।
महराले ३ हजार ७ सय ८ मतभार प्राप्त गर्दा उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छत्रराज जोशीले एक हजार ९ सय ८ मतभारमै सीमित भए । दलिततर्फ निर्र्वािचत स्नेहीले पनि ३ हजार ७ सय ८ मतभार नै प्राप्त गर्दा नेपाली कांग्रेसका शेरीराम पार्कीले एक हजार आठ सय ९० मतभार प्राप्त गरे । दलितर्फ स्थानीय तहको एक मत अर्थात १८ मतभार बदर भयो ।
यस प्रदेशमा ८८ स्थानीय तहका एक सय ७६ गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र नगरपालिकाका मेयर÷उपमेयरको १८ का दरले गरी तीन हजार एक सय ६८ र प्रदेश सभाका ५३ जना सांसदको ४८ का दरले गरी २ हजार ५ सय ४४ गरी कुल ५ हजार ७ सय १२ मतभार रहेको थियो ।
कुल ८ जनाको सीटमध्ये ६ जना उम्मेदवार भने निर्विरोध निर्वा्िचत भैसकेका छन् । खुल्ला र महिला कोटामा ३÷३ जना उम्मेदवार निर्वाचित भएका छन् । खुल्ला तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री प्रसाद पाण्डे, नेकपा एमाले अछामका अध्यक्ष शेरबहादुर कुँवर र नेकपा माओबादी केन्द्रका हरिराम चौधरी तथा महिलातर्फ नेकपा एमालेका कमला ओली, एमालेकै ईन्दु कडरिया र नेपाली कांग्रेसकी तारादेबी भट्ट निर्वाचित भएका छन् ।
मनोनयन दर्ताका क्रममा आबश्यक संख्यामा मात्रै मनोनयन परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।
प्रदेश नम्बर ७ मा राष्ट्रियसभाका ८ सीटमध्ये नेकपा एमालेले ३ सीटमा जीत हासिल गर्यो भने नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले समान २–२ सीटमा जीत हासिल गरे ।
यसैबीच सम्पन्न उक्त निर्वाचनमा राष्ट्रिय जनता पार्टीका दुई जना सांसद मालामति रानाथारु र कृष्ण बहादुर चौधरीले मतदानमा सहभागी भएनन् । उनीहरुको ४८ का दरले ९६ मतभार खसेन्। दुबैजनाले आफ्नो पार्टीको उम्मेदवार पनि नरहेको र अन्य पार्टीका उम्मेदवारहरुले भोट पनि नमागेका कारण मतदान गर्न नआएको बताएका छन् ।