पार्टीले गरेका कामबारे जनतालाई नबताउँदा कांग्रेसको पराजय विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस अब रुपान्तरण भई सांगठनिक रुपमा बलियो बन्ने बताएका छन्। नेपाल प्रेस युनियन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता शर्माले कांग्रेसले निर्वाचनका बेला आफूले गरेका राम्रा कामबारे जनतालाई अवगत गराउन नसक्दा पराजय बेहोर्नुपरेको उल्लेख गरे।

पार्टीभित्र देखिएका कमी-कमजोरी हटाउनुपर्ने र प्रत्येक प्रदेश, जिल्ला र गाउँगाउँसम्म पार्टीलाई सांगठनिकरुपमा बलियो बनाउनुपर्ने आवश्यकतालाई उनले औंल्याए।

उनका अनुसार, नयाँ सरकार गठनलगत्तै पार्टी केन्द्रीय समितिको बैठक बस्नेछ र पार्टीको विधान संशोधन लगायतका विषयमा आवश्यक निर्णय लिन महासमितिको बैठक डाकिनेछ।

वर्तमान सरकारले स्थानीय तहका साथै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्दै उनले पछिल्लो समयमा वृद्धभत्ताका लागि उमेर घटाउन जस्ता निर्णय जनहितमा रहेको दावी गरे।

पत्रकारको जिज्ञासामा उनले आफू पार्टीको विधानअनुरुप नै पार्टी प्रवक्ता भएको पनि स्पष्ट पारे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार