सिड्नीमा पत्रकारको भेला सम्पन्न

अस्ट्रेलियालाई कर्मथलो बनाएर पत्रकारिता गरिरहेका पत्रकारले नेपालबाट आएका केही अग्रज पत्रकारको उपस्थितिमा प्रवासको पत्रकारिताको अवसर र चुनौतीका विषयमा छलफल चलाएका छन्। नेपालबाट आएका देशान्तर साप्ताहिकका प्रधान सम्पादक कबिर राणा तथा एनआरएनका अगुवाको उपस्थितिमा सम्पन्न अन्तरक्रियामा प्रवासका पत्रकारिताभन्दा मित्रकारीताको अभ्यास देखिएको सहभागिले स्वीकारे।

कार्यक्रममा पत्रकार कबिर राणाले मुलुकमा पनि पत्रकारिता जिम्मेबार बन्न नसकिरहेको यर्थाथ सुनाए। प्रेस काउन्सिलको फितलोपन र सहज कानुनी उन्मुक्तीले पनि नेपालमा केही एफएम र अनलाइनले यसलाई गलत प्रयोजनमा ल्याएको राणाले स्वीकारे।

 

सानो समाजलाई जोड्ने र भए गरेका कार्यक्रमको जानकारी गराउने काम प्रवासका मिडियाले गरेका थिए। नेपाली समाजको दायरा फराकिलो हुँदै जाँदा अस्ट्रेलियामा जिम्मेबार पत्रकारिताको आवश्यकता रहेको एनआरएन आइसीसी सदस्य दिनेश जोशिले बताए।

एनआरएनका पूर्व युवा संयोजक विजय पोखरेलले बिगतमा भन्दा वर्तमानको अवस्था हेरी गलतलाई गलत राम्रो कामलाई प्रोत्साहन दिने मिडियाको भूमिका हुनुपर्ने बताए। कार्यक्रममा एनआरएनका उपाध्यक्ष नन्द गुरूङले समाजभित्रका गतिविधीलाई पस्केर आपसमा एकतामा बाध्ने काम मिडियाले गर्नुपर्ने सुनाए।

अन्तर्राष्ट्र्रिय झापाली समाजका केन्द्रीय अध्यक्ष दिनेश पोखरेलले अस्ट्रेलियामा पछिल्लो परिदृष्यमा पत्रकारिताको महत्व बढेको र यसले आफ्नो भूमिका फराकिलो पार्दै लगेको बताए। ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष कुमार भट्टराईले एफएम रेडियोहरू अहिले जिम्मेबार हुँदै गएको र राज्यले पनि यसमा नियमन गरिरहेको सुनाए।

नेपाल पत्रकार महासंघका पूर्वकोषाध्यक्ष हेमन्त काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व सीसीका सदस्य बालचन्द्र भट्टराई , पुराना पत्रकार डिल्ली ढकाल, एनएडीएफका उपाध्यक्ष पूर्णनाथ घिमिरे, सुरेन्द्र सापकोटा पत्रकारहरू मनऋषी ढकाल, माधव गैरे, कृष्ण तिवारीलगायतले अनुभव सुनाएका थिए।

कार्यक्रममा नेपालबाट आएका राणा, भट्टराई र अनलाइन संघका महासचिव अमृत पन्थीलगायतलाई सम्मानसमेत गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार