चरेस तस्करी मुद्दामा दोषी एभरेष्ट होटेलका मालिक लारी २१ वर्षपछि पक्राउ

काठमाडौं,  २६ माघ – नयाँ बानेश्वरस्थित रहेको पाँचतारे होटल एभरेष्टका मालिकलाई २१ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोबार मुद्दामा दोषी ठहर भई फरार रहेका सो होटल एभरेष्टका सञ्चालक मस्कुर अहमद लारीलाई बिहीबार पक्राउ गरिएको हो ।

बिहीबार उनकै महाराजगञ्जस्थित निवासबाट पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी जयबहादुर चन्दले बताए । एभरेस्टका मालिकसमेत रहेका लारी २०६९ सालदेखि फरार सूचीमा रहेका थिए । विभिन्न रुपमा अर्धभूमिगत रुपमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । गत आइतबार मात्र एभरेस्ट होटेलको सेयर विवादको मुद्दामा सर्वोच्च अदालतले मस्कुर अहमद लारी र नज्मा मस्कुर अहमद लारीको पक्षमा फैसला सुनाएको थियो ।

को हुन् लारी ?
लारी एभरेस्ट होटेलका संस्थापक मकबुल अहमद लारीका भतिज हुन् । पञ्चायतकालमै लखनउबाट काठमाडौं छिरेका लारी परिवारले सुरुमा मदिरा व्यवसाय गरेको गरेको थियो । पछि ठेक्का लाएर मदिरा बिक्रीवितरण हुने जमानामा मकबुल अहमद लारी मदिराका ठूला खेलाडीका रुपमा समेत गनिने भएका थिए । मदिरा आपूर्ति गर्न उनले लारी डिस्टिलरी स्थापना गरेका थिए । राजपरिवारकै निकटस्थ बन्न सफल भएका लारी परिवारले नेपाली नागरिक भने बनेका छैनन् । मदिराबाट कमाएको पैसाले उनले एभरेस्टका साथै लखनउ र कोलकातामा होटेल व्यवसाय सुरु गरेका छन् ।

सन् १९८१ देखि सञ्चालनमा आएको होटलमा मकबुल अहमद लारीले तीन करोड ५० लाख रुपैयाँ पुँजी लगानी गरेको बताइएको छ । मकबुलले होटेलको आधा स्वामित्व आफ्नै भतिज मस्कुर अहमद लारीको नाममा हस्तान्तरण गरी व्यवस्थापनको जिम्मा दिएका थिए । मकबुलचाहिँ लखनउमै बस्न थालेका थिए । मकबुलको निधनपछि उनको स्वामित्व आफैंले खरिद गरिसकेको भन्दै मस्कुरले भतिज मुजाफलाई सेयर नदिएपछि पारिवारिक विवाद सुरु भएको थियो ।
२०५५ सालमा जर्मनीको फ्र्याकफर्टमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै गएको दुई सय ५० किलो चरेस बरामद भएको थियो । प्रहरी अनुसन्धानले उक्त घटनामा एभरेस्टका मालिक लारीको संलग्नता भेटेपछि प्रहरीले मुद्दा दर्ता गरेको थियो । काठमाडौं जिल्ला अदालत र पुनरावेदन अदालत पाटनबाट उनी दोषी ठहर भए पनि लामो समयदेखि फरार हुँदै आएका थिए ।
के थियो मुद्दा ?
२०५५ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै २५० किलो चरेस जर्मनीको फ्र्यांकफर्ट विमानस्थलमा बरामद भएको थियो । जर्मनी उड्ने जहाजमा यात्रुहरूलाई दिइने खानासँगै लागूऔषधको ओसारपसार हुने गरेको तथ्य त्यही बेला खुलासा भएको थियो । जर्मन दूतावास समेतको जाहेरीमा प्रहरीले अनुसन्धान गर्दा एभरेष्ट होटलका मालिक मस्कुर अहमद लारी पनि लागूऔषध कारोबारमा संलग्न भएको भन्दै उनीविरुद्ध प्रहरीले २०५५ सालमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो तर अदालतले उनको मुद्दा तामेलीमा राखेको थियो । २०६६ पुस २० मा काठमाडौं जिल्ला अदालतले उनको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । उनको मुद्दा जिल्ला अदालत काठमाडौंबाट पुनरावेदन अदालत पाटन हुँदै अहिले सर्वोच्चमा पुगेको छ ।

लागूऔषध तस्करी मुद्दामा पक्राउ परेका लारीलाई महानगरीय प्रहरीपरिसर काठमाडौं लगिएको छ । उनी पक्राउ परेलगत्तै उनलाई छाड्न भन्दै उच्चपदस्थ व्यक्तिहरुले प्रहरीलाई दबाब दिएको समेत समाचार प्राप्त भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त महाराजगञ्जले उनलाई पक्राउ गरेलगत्तै लारीलाई छोडिदिन भन्दै नेतादेखि उच्चपदस्थ कर्मचारी समेतले फोन गरेर दबाब दिएको स्रोतले जनाएको छ । २१ वर्षअघि लारीविरुद्ध चरेस तस्करीको मुद्दा चलेको थियो ।

प्रहरीले पक्राउ गर्न नसकेपछि अभियुक्त फरार रहेको भनी जिल्ला अदालतमा मुद्दा तामेलीमा राखिएको थियो । तर, जिल्लाले उक्त मुद्दा जगाउँदै पुनः सुनुवाइ गरेपछि २०६८ मा मस्कुरको नाममा पक्राउ आदेश जारी भएको थियो । लारीले एभरेष्ट होटलको सेयरसम्बन्धी मुद्दा दुई दिनअघि मात्र जितेका थिए । उनको होटल भने ०७२ वैशाख १२ गतेको भूकम्पले बस्न नहुने भन्दै सरकारी कर्मचारीको मिलेमतोमा रातो स्टिकर टाँसिएको थियो ।

पक्राउ परेलगत्तै उनलाई छाड्न एआईजी जयबहादुर चन्द तथा काठमाडौं परिसरका एसएसपी रविन्द्र धानुकलाई उच्चपदस्थ व्यक्तिहरुले दबाब दिएको समाचार पाप्त भएको छ । गएको केही दिनअघि सर्वोच्च अदालतले पाँचतारे होटल एभरेस्टको सेयर मस्कुर अहमद लारी र नज्मा मस्कुर अहमद लारीको हुने फैसला सुनाएको छ । सो मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले पुनरावेदन अदालत पाटनको फैसला सदर गर्दै आइबार उक्त फैसला सुनाएको थियो । अन्तिम फैसलाको पूर्णपाठ आउन बाँकी रहे पनि होटल संस्थापक मकबुल अहमद लारीका छोरा मुजफ्फर अहमद लारीले सेयर नपाउने भएका छन् ।

सर्वोच्चको फैसलापछि सेयर विवादका कारण बन्द रहेको होटल पुनः सञ्चालन गर्ने बाटो खुलेको छ । भारतीय नागरिक लारी परिवारको लगानीमा ४७ वर्षअघि यो होटल निर्माण भएको थियो । सन् १९८१ देखि एभरेस्ट होटल सञ्चालनमा आएको हो । मकबुलको २०६१ जेठ ४ गते निधनपछि होटलको स्वामित्वमा विवाद सुरु भयो । मकबुलका छोरा मुजफ्फर अहमद लारीले बाबुको नाममा रहेको सेयर पाउनुपर्ने माग गरेपछि स्वामित्वको विवाद सुरु भएको हो । मकबुलको नाममा रहेको सेयर भतिज मस्कुरले किर्ते गरेर लिएको भन्दै छोरा जुब्फर अहमदले सुरुमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

सो मुद्दा जिल्ला र पुनरावेदन हुँदै सर्वोच्च पुगेको उक्त मुद्दामा अन्ततः सेयर स्वामित्व भतिज मशकुर र उनकी पत्नी नज्माकै नाममा हुने फैसला भएको थियो । उद्योग विभागबाट सञ्चालन स्वीकृति लिएर लारी परिवारले होटलको स्वामित्व लिएको थियो । मूल लगानीकर्ता मकबुल रहे पनि उनका छोरा मुजफ्फर, भतिजा मस्कुर र भतिजकी पत्नी नज्मा मस्कुर अहमद लारीबीच २५ वर्षदेखि सेयरमा किचलो पर्दै आएको थियो । – आर्थिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार