विश्व क्रिकेट लिग डिभिजन टूमा केन्यालाई नेपालले ३ विकेटले हराएको छ ।
जितका लागि नेपालले अन्तिम ओभरसम्म संघर्ष गर्नुपरेको थियो । अन्तिम ओभरमा नेपाललाई जितका लागि ६ रन चाहिएको थियो । अन्तिम ओभरको पहिलो बलमा रोहितले दुई रन लिएका थिए । तर अन्तिम ओभरको तेस्रो बलमा रोहित रनआउट भए । १ बलमा २ रन चाहिएको अवस्थामा सोमपालले २ रन लिएर नेपाललाई जिताए ।
नेपालको ब्याटिङलाई उकासेका रोहित पौडेल ८६ बलमा ४७ रन बनाएर आउट भए । नेपालका पारस खड्का ४२ रन बनाएर आउट भए । यस्तै शरद भेषावकर १९, दिपेन्द्रसिंह ऐरी १, ज्ञानेन्द्र मल्ल ८ र रोहित कुमार पौडेल शुन्यमा आउट भएका थिए ।
यसअघि टस हारेर पहिला व्याटिङ गरेको केन्याले ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो । केन्यालाई १ सय ७७ को मध्यम स्कोरमा रोक्न सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट लिए । उनले १० ओभरमा ५ मेडन राख्दै २० रन दिएर ५ विकेट लिए । विश्व क्रिकेट लिग डिभिजन टु मा १४ विकेटसहित सन्दिप सबैभन्दा धेरै विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् । प्रतियोगितामा अहिलेसम्म खेलेका ४ मध्ये ३ खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ ।
आफूले खेलेका तीनै खेल हारेको केन्या भने अंक तालिकाको पुछारमा छ । ६ टिम सहभागी यो प्रतियोगिताको शीर्ष २ मा पर्न सके नेपालले विश्वकप छनौट खेल्न पाउने छ ।
आइसीसी डिभिजन टू मा केन्यासँग खेलिरहेको नेपाली टोलीका बलर सन्दीप लामिछानेको आइसीसीले प्रशंसा गरेको छ ।
सन्दीपले आज केन्याविरुद्धको खेलमा ५ विकेट लिएपछि आइसीसीले ट्वीट गर्दै लिस्ट ‘ए’ क्रिकेटमा नेपालका कुनै पनि बलरले गरेको यो उत्कृष्ट बलिङ भनेको छ ।