बुधबार बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा साँझ बस्ने भनिएको बैठक बस्न नसकेपछि अर्को दिन बिहान ९ बजे बस्ने तय भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
बिहीबार बिहान मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको उनले बताए ।
प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको लामो समयसम्म सत्तामा बसेको भनेर आलोचना भइरहेका बेला देउवाले राष्ट्रियसभा निर्वाचन सम्पन्न गरेर राजीनामा दिने तयारी गरेका हुन् । राष्ट्रियसभा निर्वाचनका लागि बुधबार ६ वटा प्रदेशमा मतदान भइरहेको छ । प्रदेश नम्बर २ मा भने सबै सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।
प्रधानमन्त्रीले राजीनामा दिने तयारी गरेको वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले जानकारी दिए । राष्ट्रियसभा निर्वाचन सम्पन्न भएपछि राजीनामा दिने कि प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक नहुँदासम्म कुर्ने भन्नेमा छलफल भइरहेको विश्वकर्माले बताए ।
‘खासगरी यसमा दुई स्टेप छन्, आज राष्ट्रियसभा निर्वाचन सम्पन्न भएपछि राजीनामा दिने कि प्रतिनिधिसभाको अन्तिम परिणाम आएपछि भन्नेमा प्रधानमन्त्रीज्यू परामर्शमा हुनुहुन्छ,’ मन्त्री विश्वकर्माले भने । अर्का एक मन्त्रीले पनि राजीनामा दिने विषयमा प्रधानमन्त्री परामर्शमा रहेको पुष्टि गरे ।
देउवा नेकपा (माओवादी केन्द्र)सहितका दलहरूको समर्थनमा यही जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । प्रधानमन्त्रीका रूपमा चौंथो कार्यकाल पूरा गर्दै गरेका देउवाले यसपटक स्थानीय तह निर्वाचनको दुई चरण र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरे ।
स्थानीय तहको पहिलो चरणको निर्वाचन भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सम्पन्न गरेको थियो । कांग्रेस सभापतिसमेत रहेका देउवाले आफ्नो पार्टीलाई चुनावमा अपेक्षित सफलता दिलाउन नसके पनि देशलाई निकास दिन भने महत्त्वपूर्ण भूमिका निभाए ।
गत मंसिरमा भएको प्रतिनिधिसभामा एमाले–माओवादी गठबन्धनले अत्यधिक बहुमत हासिल गरेको थियो । नयाँ सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सम्भावना छ ।
प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक भएपछि बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गर्नेछिन् । यदि कुनै दलको एकल बहुमत भएको भए सोही दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नसक्ने व्यवस्था थियो ।
समानुपातिकतर्फको आधिकारिक परिणाम सार्वजनिक हुन बाँकी नै रहे पनि संसदमा कुनै पनि दलको एकल बहुमत नरहने पक्का छ ।