कांग्रेस पुनर्जागरणका लागि गगनको योजना: महासमिति बैठकदेखि नेतृत्व परिवर्तनसम्म

प्रजातन्त्र दिवसको अवसर पारेर सोमबारबाट नेपाली कांग्रेस पुनर्जागरण अभियान सुरु गरिएको छन्। नेपाली कांग्रेसका युवा नेता गगन थापा, चन्द्र भण्डारी, गुरु घिमिरे, धनराज गुरुङलगायतले देशव्यापी अभियान सुरु गरेका हुन्। अभियान सुरुवातको क्रममा कांग्रेस युवा नेता थापाले पुनर्जागरणको संक्षिप्त अवधारणासमेत प्रस्तुत गरेका छन्।

चुनाव हारेपछि पार्टीमा संकट आउँदा कार्यकर्तामा उत्साह हराएकाले पुनर्जागरण अभियान सुरु गरेको कांग्रेस नेता गगन थापाले बताए। ‘हाम्रो अभियान नेताविरुद्ध होइन, गुटबन्दीका लागि होइन’, थापाले भने, ‘सैद्धान्तिक ब्याख्या, सांगठनिक ढाँचा, नेतृत्व र पार्टी सञ्चालनको शैलीमा आत्मविश्वास र जनताको विश्वासलाई पुन:स्थापित गर्न हो।’

यस्तो छ थापाले प्रस्तुत गरेको संक्षिप्त अवधारणा आज प्रजातन्त्र दिवस, २००७ सालको जनक्रान्तिलाई स्मरण गर्दै स्वतन्त्रताका निम्ति प्राण आहुति गर्ने सम्पूर्ण शहीदहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। नेपाली कांग्रेसको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण र सोअनुरूप सबै तहको निर्वाचन सम्पन्न भएको छ। यससँगै नेपाली राजनीतिको तत्कालको कार्यभार मात्र पूरा भएको छैन , सात दशकदेखि नटुङ्गिएको एउटा महत्त्वपूर्ण अध्यायसमेत समाप्त भएको छ। नेपालको राजनीति अन्तत: लोकतन्त्रको सर्वस्वीकृत मार्गमा पुगेको छ, जुन हाम्रा दूरदर्शी अग्रजहरूले पार्टीको स्थापनाकालमै देखाएका थिए। निश्चय नै यो कांग्रेसको राजनीतिक विजय हो। तर कांग्रेसको राजनीति र विचारले जित्दै गर्दा पनि कांग्रेसले चुनाव जित्न सकेन।

देशैभरि चुनाव हारेको मात्र होइन, कांग्रेसजनमा उत्साह हराएको छ, आत्मबल कमजोर भएको छ, नेतृत्वप्रति गहिरो आक्रोश छ, पार्टीका कार्यकर्ता अलमलिएका छन्, समर्थकहरू निराश छन् र मतदातामा गहिरो अविश्वास छ। राजनीतिक विचारले जितेर पनि निर्वाचन हारेको र सबै तहमा नेता/कार्यकर्ता अलमलिएको अनि कांग्रेसप्रति जनताको विश्वास गिरेको आजको वास्तविकता हो। के आजकै सैद्धान्तिक ब्याख्या, सांगठनिक ढाँचा, नेतृत्व र पार्टी सञ्चालनको शैलीले कार्यकर्ताको त्यो आत्मविश्वास र जनताको विश्वासलाई पुन:स्थापित गर्न सक्छ? हाम्रा अगाडिको यक्ष प्रश्न यही हो। कांग्रेसमा आज जुन अलमल छ, त्यो रहिरहँदासम्म जनताको विश्वास फर्काउन त परको विषय, तत्कालका लागि प्रतिपक्षको भूमिका पनि प्रभावकारी हुन सक्दैन। संविधानलाई कार्यान्वयन गर्नुपर्ने यो संक्रमणकालमा केही अफ्ठ्यारो पर्‍यो भने पनि पार्टीले अग्रसरता र समाधान दिन सक्दैन अनि यही गति र अवस्थामा कांग्रेसले ५ वर्षपछिको चुनावबाट आफ्नो शाख फर्काउन सक्ला ? सक्दैन। त्यसैले कांग्रेस जतिसक्दो छिटो यो अलमलबाट बाहिर निस्कनै पर्छ।

कार्यकर्ता पंक्तिमा आत्मविश्वास र आम जनताको भरोसालाई पुन:स्थापित गर्ने गरी पार्टीलाई दिशानिर्देश गर्न पार्टीभित्र आत्मसमीक्षा मात्रै गरेर पुग्दैन, त्यसलाई सच्याउँदै आफू बदलिने र देशको मुहार बदल्ने सपना र संकल्प पनि देखाउन सक्नुपर्छ। निर्वाचनपश्चातको पीडाबोधलाई शक्तिमा बदलेर फेरि पार्टीलाई द्रूततर गतिमा पुनर्जीवन दिन कांग्रेस नयाँ बन्नै पर्छ। त्यसको प्रारम्भ अविलम्ब महासमिति बैठक र शीघ्र महाधिवेशन गरेर हुनुपर्छ भन्नेमा हामी प्रष्ट छौँ। यो नियमित प्रक्रिया हो, गर्नै पर्छ। त्योभन्दा पनि महत्त्वपूर्ण पक्ष कांग्रेसमा पुनर्जागरण चाहिएको छ।

एउटा यस्तो जागरण अभियान चाहिएको छ, जसले तलदेखि माथिसम्म कांग्रेसलाई जागृत गराउन सकोस्, संविधान कार्यान्वयनसँगै आरम्भ भएको नयाँ युगमा कांग्रेसको नयाँ लक्ष्य तय गर्दै नयाँ युगको लागि नयाँ एजेण्डालाई बोकेर हिँड्न सक्ने संगठनको खाका कोर्न सकोस् र जनतामा विश्वास भराउन सकोस्। तात्कालिक रूपमा यो पुनर्जागरण अभियानले महासमिति बैठक र महाधिवेशनलाई अर्थपूर्ण बनाउनेछ, देशैभरि सशक्त र जिम्मेवार प्रतिपक्षको रूपमा काम गर्न सक्ने कांग्रेस बनाउनेछ, संविधानको मर्मअनुरूप देश संचालनमा अग्रसरता लिन सक्ने अनि सरकारले संविधान कार्यान्वयमा बाटो बिराउन खोज्दा खबरदारी गर्न सक्ने कांग्रेस बनाउनेछ, कांग्रेसलाई आन्तरिक लोकतान्त्रिक संस्कृतिसहितको पार्टी बनाउनेछ, पार्टीले नेतृत्व गर्नै पर्ने सामाजिक आन्दोलनका मुद्दाहरूलाई पहिचान गर्दै पार्टीभित्र निस्तेज हुँदै गएको सामाजिक आन्दोलनको भावनालाई पुनर्जागृत गरी सामाजिक आन्दोलनको नेतृत्व गर्ने अवस्थामा पुर्‍याउनेछ। यससँगै यस अभियानले संविधान निर्माणपछिको परिवर्तित सन्दर्भमा पार्टीको सैद्धान्तिक प्रष्टताका लागि पार्टीको आदर्श र सिद्धान्तको पुनर्व्याख्या गर्नेछ। संविधानले निर्दिष्ट गरेको संघीय तथा समावेशी संरचना र बदलिँदो आर्थिक-सामाजिक परिवेशअनुरूप संगठनको पुनर्संरचना गर्दै नेपाली कांग्रेसलाई पूर्ण लोकतान्त्रिक, समावेशी, गतिशील र अनुशासित पार्टी बनाउन संगठनको खाका बनाउनेछ।

त्यस्तै, गतिशीलता, असल आचरण र समर्पण भएको स्वप्नशील नेतृत्व, पार्टीभित्र सबै सदस्यले आत्मसम्मान र अपनत्व अनुभूति गर्ने तथा समान अवसर र न्यायको सुनिश्चितता हुन सक्ने एक्काइसौँ शताव्दीअनुकूलको आधुनिक पार्टी निर्माण गर्न पार्टीभित्र र बाहिर जनमत तयार गर्नेछ। नेपाललाई अबको १५ वर्षभित्र कम्तीमा पनि अतिकम विकसित राष्ट्रको समूहबाट माथि उठाई समान, सुखी र खुस नेपाली भएको समुन्नत देश बनाउने संकल्पसहित नेपाली कांग्रेसलाई समावेशी लोकतन्त्रलाई संस्थागत गरेर नेपालको आर्थिक-सामाजिक रूपान्तरणको भरपर्दो सारथि बनाउने मुख्य ध्येयका साथ आज प्रजातन्त्र दिवसकै दिन यो वैचारिक जागरण अभियान प्रारम्भ गरिएको छ। हामी प्रष्ट गर्न चाहन्छौँ- यो कुनै गुट होइन, कुनै व्यक्तिविरुद्ध लक्षित पनि होइन।

यो पार्टी सुदृढीकरणको साझा संकल्प बोकेका पार्टीका सबै सदस्यहरूको अभियान हो। प्रात:स्मरणीय शहीदहरूलाई सम्झँदै, हामी संकल्प गर्छौं- नेपाली कांग्रेसलाई २००७ सालको जस्तै क्रान्तिकारी र जुझारु तथा २०१५ सालको जस्तै प्रगतिशील र जनप्रिय अनि २१औँ शताब्दीअनुकूलको आधुनिक राजनीतिक संगठनको रूपमा स्थापित गर्ने मात्रै होइन, समृद्ध नेपालको नेतृत्व गर्न सक्ने योजना, साहस र समर्पणसहितको नेतृत्व अनि जनताको भरोसा र विश्वास जितेको पार्टीको रूपमा पनि स्थापित गर्नेछौँ। हामी संकल्प गर्छौं – निर्वाचनको म्याण्डेटअनुसार यो ५ वर्ष जिम्मेवार र सशक्त प्रतिपक्षको रूपमा नेपाली कांग्रेसको भूमिकालाई स्थापित गर्दै ५ वर्षपछि हुने सबै तहका निर्वाचनमा कांग्रेसलाई बहुमतसहितको पहिलो पार्टीको रूपमा स्थापित गर्नेछौँ।

अभियानको पहिलो चरण अभियानको पहिलो चरणमा सबै प्रदेश, जिल्ला र स्थानीय तह (नगरपालिका र वडा)सम्म संविधानअनुसार परिवर्तित सन्दर्भमा पार्टीको सिद्धान्तको पुनर्व्याख्या, संगठनको पुनर्संरचना र कांग्रेसले अंगीकार गर्नुपर्ने आर्थिक-सामाजिक विकासका मुद्दाहरूका सन्दर्भमा पार्टीका साथीहरू, भ्रातृ तथा शुभेच्छुक संस्थाका साथीहरू र सुदृढ कांग्रेसको शुभेच्छासहित समाजका विभिन्न तहमा क्रियाशील व्यक्तिहरूसँग संवाद र छलफल गरी सिद्धान्तको पुनर्व्याख्या र सांगठनिक दस्तावेज तयार गरिनेछ।

यसरी कांग्रेसको सबै तहमा छलफल गरी तयार गरिएको पार्टी पुनर्निर्माणको प्रस्तावित खाकासहितको एकीकृत दस्तावेजलाई अध्ययनका लागि पार्टीको हरेक तहमा पुर्‍याइनेछ र पार्टीको महासमिति बैठक तथा महाधिवेशनमा प्रस्तुत गरिनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार