नेपाली कांग्रेसमा देउवासँग सिंह भिड्ने,कस्ले मार्ला बाजी

नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवालाई नेता प्रकाशमान सिंहले चुनौती दिने भएका छन् । देउवालाई सर्वसम्मत हुन नदिन देउवा विरोधी समूह लागेको छ । देउवा विरोधीका रूपमा चिनिएको समूहको नेतृत्व रामचन्द्र पौडेलले गरेका छन् भने कांग्रेसमा कृष्णप्रसाद सिटौलाको अर्को समूह पनि देखिएको छ ।

महाधिवेशनताका देउवा निकट देखिएको सिटौला समूहले अहिले भने देउवालाई समर्थन नगर्ने अनुमान गरिएको छ । पौडेल समूहबाट पार्टी उपसभापति प्रकाशमान सिंह तथा महामन्त्री शशांक कोइरालाले संसदीय दलको नेता पदमा उमेदवारी दिने इच्छा देखाएका छन् । सोमबारको अंकमा नयाँ पत्रिका लेख्छ, बीपी पुत्र शशांक कोइरालाको चाहना सर्वसम्मत भएको खण्डमा मात्र उमेदवारी दिने देखिन्छ भने गणेशमान पुत्र प्रकाशमान भने जति मत आए पनि देउवालाई सर्वसम्मत हुन नदिने अठोटमा पुगेका छन् ।

नयाँ पत्रिकाले दिएको समाचारअनुसार कोइरालाले आफू संसदीय दलको नेता भएको खण्डमा प्रस्तावक सभापति देउवा हुने बताएका छन् । उता रामचन्द्र पौडेल प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका कारण काठमाडौं क्षेत्र नं १ बाट विजयी प्रकाशमान सिंह देउवाको विपक्षमा अगाडि सरेका हुन् । तर, प्रतिनिधि सभाको प्रत्यक्षमा २३ र समानुपातिकतर्फको ४० स्थान जितेको नेपाली कांग्रेसको ६३ सदस्यीय संसदीय दलमा देउवाको सहज बहुमत रहेको पनि नयाँ पत्रिकाले जनाएको छ । समाचारअनुसार दलको नेता बन्न ३२ मत आवश्यक भएकोमा देउवा पक्षमा प्रत्यक्षका ११ र समानुपातिकका २९ सांसद रहेकाले निर्वाचन भएमा देउवाको विजय हुने देखिएको छ । नयाँ पत्रिकाकै अनुसार पौडेल पक्षमा प्रत्यक्षबाट ९ जना विजयी भए पनि समानुपातिकबाट १० जनामात्र चुनिएका छन् । यसरी पौडेल पक्षमा १९ र सिटौला पक्षमा जम्मा प्रत्यक्षका ३ जना सांसदमात्र देखिएका छन् ।

नागरिक दैनिकले पनि शेरबहादुर देउवा र प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने समाचारलाई मुख्य बनाएको छ । देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्मालाई उद्धृत गर्दै नागरिक लेख्छ — संसदीय दलको नेता देउवा आफैं बन्ने तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार