माओवादी केन्द्रका यी तीन नेतालाई पार्टी बाट निकालीयो,आखिर किन ?

माओवादी केन्द्रले आफ्ना तीन नेताहरुलाई पार्टीबाट हटाएको छ । विहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले गोपाल किराती, विश्वभक्त दुलाल (आहुती) र लोकेन्द्र विष्ट मगरलाई कारबाही गरेको हो ।

माओवादी बैठकले तीन नेता ‘पार्टीमा नरहेको’ सार्वजनिक घोषणा गर्ने निर्णय गरेको हो । उनीहरुमाथि कुनै आग्रह नराख्ने तर पार्टी एकता प्रक्रियामा सहभागी नभएकाले पार्टीमा नरहेको विज्ञप्ति जारी गर्ने निर्णय भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

माओवादीले एमालेसँग पार्टी एकता गर्ने सहमति गरेलगत्तै तीन नेताले एकताको विरोध गर्दै माओवादी केन्द्र पुनगर्ठनको घोषणा गरेका थिए । साथै पछिल्लो समय तीनै नेताहरु बैद्य माओवादी र विप्लव समूहले गरेको संयुक्त कार्यक्रममा समेत उपस्थित भएका थिए ।

पूर्वमन्त्रीसमेत रहेका विष्टले केही पहिले नै माओवादी छाडेको बताएका थिए भने आहुतिले पछिल्लो समय माओवादी आफ्नो पार्टी नभएको र प्रचण्ड आफ्नो नेता नभएको अभिव्यक्ति दिएका थिए । किराती भने माओवादीमै थिए ।

फागुन ७ मा एमाले माओवादीबीच सहमत भएसँगै किरातीकै नेतृत्वमा माओवादी केन्द्र पुनगर्ठनको निर्णय भएको थियो ।

प्रचण्डको विश्लेषणः वाम एकतामा दायाँ-वायाँ खतरा

प्रचण्डनिवास खुमलटारमा विहीबार बसेको माओवादी शीर्षनेताहरुको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण सुनाएका थिए ।

यसक्रममा प्रचण्डले पार्टी एकताका क्रममा एमालेको जबजमा माओवादी गएको हैन भन्ने सन्देश कार्यकर्तासम्म पुर्याउन आवश्यक रहेको बताएका छन् । माओवादीले एमालेको जबज मान्यो भनेर उग्र वामपन्थी कोणबाट गलत प्रचार भएको भन्दै प्रचण्डले यस्तो भ्रम चिर्न आवश्यक रहेको बैठकमा बताए ।

दुई पार्टीवीचको एकताले नयाँ राजनीतिक कोर्षको सुरुवात भएको र गत चुनावमा नेपाली जनताले कम्युनिष्टहरु मिल्न दिएको जनादेशलाई अनुमोदन गरिएको प्रचण्डको विश्लेषण थियो ।

तर, एमाले र माओवादीवीचको एकतालाई टुंगोमा पुग्न नदिने उग्रवादीहरुले चलखेल गर्ने खतरा रहेको भन्दै प्रचण्डले विप्लव माओवादीतर्फ संकेत गरे ।

यो वाम एकताको महत्व देशभिमात्रै नरहेर विश्वभर रहेकाले वाम एकतालाई भाँड्न विदेशी साम्राज्यवादी र दक्षिणचपन्थी शक्तिले पनि प्रयास गर्न सक्ने खतरा रहेको प्रचण्डले आफ्ना नेताहरुलाई बताए ।

प्रचण्डले औंल्याएको दायाँ र वायाँ दुबैतिरबाट एकतामाथि आक्रमण हुन सक्ने सम्भावनालाई विशेष ध्यान दिँदै एकताको ७ बुँदे आधारको स्वागत गर्ने विहीबार बैठकले निर्णय गरेको बैठक पछि माओवादीका एक नेताले बताए ।

काठमाडौंमा अगुवा कार्यकर्ता भेला

यसैवीच विहीबारको माओवादी बैठकले पार्टी एकताबारे देखिएका अस्पष्टता एवं भ्रमहरु चिर्नका लागि काठमाडौंमा अगुवा कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रम गर्ने निर्णयसमेत गरेको छ । सो अगुवा कार्यकर्ता भेलामा सातै प्रदेशका अगुवा नेता कार्यकर्ता सहभागी गराइने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार