खलनायक राजेन्द्र खड्गीले मानव बेचविखन गरेको स्विकारे

चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गी दुई सातादेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा छन् । थुप्रै चलचित्रमा खलनायकको भूमिकामा देखिएका खड्गी कुनै फिल्म सुटिङका क्रममा प्रहरी हिरासतमा बसेका होइनन् ।

‘रिल’ लाइफमा खलनायकका रुपमा चिनिएका खड्गीमाथि ‘रियल लाइफ’मा पनि खलनायककै भूमिका खेलेको आरोप लागेको छ । हिरासतमा रहेका खड्गीमाथि मानव ओसारपसार तथा वेचविखनको गम्भीर अभियोग लागेको छ । यो मुद्दामा उनी दोषी ठहरिए भने अधिकतम २० वर्ष (जन्मकैद) सम्म जेल सजायँ हुन सक्छ ।

प्रहरी हिरासतमा रहेका खड्गीले प्रहरीलाई दिएको वयानमा उनीमाथि लागेको आरोप स्वीकार गरेका छन् । अन्य कलाकारहरुले पनि यस्तै काम गरेको देखेर आफूले गरेको खड्गीको वयान छ । उनको यस्तो वयानले नेपालका अन्य कलाकारहरु पनि मानव बेचविखनमा संलग्न रहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

तर, कलाकार, खेलाडी अनि नेताहरुको आडमा हुने गरेको मानव ओसारपसार र बेचबिखनलाई उपल्लो तहबाटै बचाउ हुने गरेको प्रहरी अधिकारीहरु गुनासो गर्छन् । राजेन्द्र खड्कीकै केसमा पनि मकवानपुरका केही ठूला नेताहरु समेत बचाउमा लागिपरेको प्रहरीको गुनासो छ ।

जब कोरियाबाट चिठी आयो…

तीन साताअघि दक्षिण कोरियास्थित नेपाली दूतावासको कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई एउटा सूचना पठायो, जसमा भनिएको थियो- ‘नेपालबाट आएका एकजना कलाकारसँग यहाँ आएका ११ जना फर्किएका छैनन् ।’

दूतावासले पठाएको सूचनामा उल्लेख गरिएका कलाकार थिए- नेपालका चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गी ।

सुरुमा त प्रहरी अधिकारीहरुलाई विश्वास नै लागेन । तर, यसअघि पनि कार्यक्रमको बहानामा जाने कलाकार तथा नेतासँगै मानव तस्करी हुने गरेको पाइएको थियो । त्यसमाथि नेपाली दूताबासकै सूचना भएकाले अनुसन्धान अघि बढायो ।

प्रारम्भिक अनुसन्धानमा खड्गी दोषी देखिएपछि प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रहरी स्रोतका अनुसार सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै खड्गी १२ जनाको टोली लिएर कोरिया गएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनको रेकर्डले त्यही देखाउँछ तर, फर्किने बेलामा भने दुईजना मात्र नेपाल आएका छन् ।

१० लाखमा दक्षिण कोरिया !

कोरियामा आयोजित कार्यक्रमका लागि खड्गीले भिसा लिएका थिए । उनले प्राविधिकको टोलीका नाममा अरु ११ जना लगेका थिए ।

‘कसैलाई टक्निसियन, कसैलाई लाइट म्यान र कसैलाई श्रृङ्गारमा काम गर्ने भनिएको छ’, सीआईबी स्रोत भन्छ ।

तर, खड्गीले सुटिङका क्रममा विभिन्न ठाउँमा भेटिएका व्यक्तिहरुबाट मोटो रकम लिएर कोरिया लगेको पाइएको छ । कतिपय भने आफैं खड्गीको सम्पर्कमा पुगेका रहेछन् ।

स्रोतका अनुसार खड्गीले प्रति व्यक्ति १० देखि १५ लाख रुपैयाँ लिएर कोरिया लगेका थिए । खड्गीले उनीहरुको डकुमेन्ट बनाउँदा युवा फर्किएनन् भने आफ्नो जिम्मेवारी हुने व्यहोरा उल्लेख भएको कागजातमा समेत हस्ताक्षर गरेका छन् ।
खड्गीको वयानः अरुले पनि यसै गर्थे, मैले पनि गरें

प्रहरी नियन्त्रणमा रहेका द्वन्द्व निर्देशक खड्गीले उनीहरुलाई कोरिया लगेको स्वीकार गरेर वयान दिएका छन् । प्रहरी स्रोतले उनको वयानलाई उदृत गर्दै भन्यो, ‘सबैले लगिरहेका थिए । त्यसैगरी मैले पनि लगेको हुँ । तर, यो अपराध भन्ने थाहा थिएन ।’

खड्गीको बयानबाट अन्य कलाकारले पनि अवैधानिक तरिकाले मानिसहरुलाई लैजाने गरेको देखाएको छ ।

‘मानव तस्करीको यो नयाँ शैली हो’, सीआईबीका एक अधिकारी भन्छन्, ‘खड्गीमार्फत गएका युवाहरु पीडित हुन् या हैनन् भन्ने बारेमा जानकारी लिने कोशिश भइरहेको छ ।’

दक्षिण कोरिया, जापान, अमेरिका लगायतका देशहरुमा भिसा लगाउन समस्या हुने भएकाले युवाले मोटो रकम बुझाएर अवैधानिक बाटोबाट त्यहाँ जाने गरेका छन् ।

राँगोलाई बक्सिङ हानेर काठमाडौं प्रवेश

सर्वाधिक धेरै फिल्ममा द्वन्द्व निर्देशन गर्ने व्यक्तिका रुपमा चिनिन्छन् राजेन्द्र खड्गी । ५ सय भन्दा बढी फिल्ममा द्वन्द्व निर्देशन गरेका खड्कीले दर्जन बढी चलचित्रमा खलनायकको भूमिका निर्वाह गरेका छन् ।

स्व. गोपाल भुटानीको चेला बनेर नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका खड्की हेटौंडाका स्थायी बासिन्दा हुन् । हेटौंडामा मुड्कीले हानेर राँगो ढालेपछि चर्चामा आएका खड्गीलाई त्यही चर्चाले काठमाडौं ल्याएको थियो । तर, काठमाडौं आएपछि पनि उनको बसाइ सहज भएन ।

अनलाइनखबरसँगको कुराकानीका क्रममा उनले भनेका थिए, ‘सुरु सुरुमा मैले मान्छे कुट्ने काम पनि गरेँ ।’

उनको एउटा ग्याङ थियो । सरसापटी वा लेनदेनमा पैसा उठाउन नसक्नेहरुलाई खड्गीलाई भन्थे, ‘फलानोसँग पैसा उठाइदिनु पर्‍यो ।’ यसरी पैसा उठाएवापत उनले कमिशन पाउथे । कमिशनकै लागि मान्छे कुटेको उनी सहर्ष स्वीकार्थे ।

जब धेरै संख्यामा फिल्म बन्न थाल्यो उनले प्रशस्त काम पाउन थाले । कामको चाप बढेसँगै मान्छे कुट्ने काम छाडे । बम्बैया शैलीका फिल्म बन्दासम्म उनको बजार व्यापक थियो । पाँचवटा गीत र पाँचवटा फाइट राखेर फिल्म बनाउने बेलासम्म उनलाई भ्याई-नभ्याई थियो ।

भूतपूर्व कलाकार !

पछिल्लो पाँच वर्षयता खड्गीले कुनै पनि फिल्ममा काम गरेका छैनन् । उनले कलाकारका रुपमा आफ्नो विगतमात्रै बेचिरहेका छन् ।

पछिल्लो पुस्ताका निर्देशकहरुले द्वन्द्वमा नयाँ प्रविधि अपनाउन थालेका कारण खड्गी लगभग फेजआउट बनेका छन् । जसले गर्दा खड्गी मात्रै हैन, उनको पुस्ताका धेरै द्वन्द्व निर्देशकहरु अहिले भूमिकाविहीन छन् ।

पाँच वर्षदेखि चलचित्रमा भूमिकाविहीन बनेका खड्गी यही अवधिमा मानव बेचविखनको अभियोगमा समातिएका छन् । अब खड्गीमाथिको अभियोग प्रमाणित भएमा उनी लामै समय जेलमा बस्नेछन् । अभियोग प्रमाणित भएन र जेल परेनन् भने पनि चलचित्रमा उनको पुनरागमनको सम्भावना अब निकै क्षीण देखिन्छ ।

जब नेपाली फिल्ममा नयाँ-नयाँ सोच भएका निर्देशकको आगमन भयो । खड्गीको काम घट्न थाल्यो । अहिलेका दर्शकले राजेन्द्र खड्की स्टाइलको द्वन्द्व मन पराउँदैनन्, जसकारण उनी बेरोजगार छन् भन्ने तर्क पनि चलचित्र क्षेत्रमा सुन्ने गरिएको छ ।

राजनीतिक कभर

माओवादी शान्ति प्रक्रियामा आएपछि प्रचण्डलाई लालसलाम गरेर माओवादीमा प्रवेश गरेका खड्गी त्यसअघि एमाले समर्थक मानिन्थे हेटौडामा ।

जिल्लामा रहँदा पूर्वपञ्चहरुको ग्याङसँग प्रायः झगडा भइरहने गरेका कारण कमल थापा नेतृत्वको राप्रपासँग खड्गीको सम्बन्ध खासै बनेन । तर, उनी एमालेसँग नजिक रहेको र पछि माओवादीमा प्रवेश गरेको जिल्लाबासीहरु बताउँछन् ।

अहिले मानव बेचविखनको अभियोग लागेपछि खड्गी आफूलाई बचाइदिन माओवादी नेताको सम्पर्कमा पुगेको सूत्रहरुको दाबी छ from onlinekhabar.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार