http://jagdambacement.com/

मधेसी सरकारलाई एमालेको समर्थन : प्रतिपक्ष बन्यो कांग्रेस

जनकपुरधाम, ११ फागुन –  प्रदेश २ मा संघीय फोरमका संसदीय दलका नेता मो. लालबाबु राउत नेतृत्वको सरकारलाई प्रमुख प्रतिपक्षी दल एमालेले समर्थन दिएको छ ।

एमाले, माओवादीसहित दलको समर्थनसँगै सरकारको पक्षमा दुईतिहाईभन्दा बढी मत प्राप्त भएको छ। संविधानको धारा १६८ को २ बमोजिम फोरम र राजपा गठबन्धनको सरकारले विश्वासको मत प्राप्त गरेको घोषणा प्रदेशसभा बैठकबाट गरिएको हो।

चौथो ठूलो दल कांग्रेसले भने सरकारको प्रतिपक्षमा मतदान गरेको छ। फोरम र राजपा गठबन्धनबाट मुख्यमन्त्री बनेका राउतले बिहीबार प्रदेशसभामा विश्वासको मत सिद्ध गर्नुपर्ने थियो।

बैठकमा प्रमुख विपक्षी एमाले, माओवादी, संघीय समाजवादी पार्टी र स्वतन्त्र सांसद शेष मोहम्मद अब्दुलले पक्षमा मतदान गरेका थिए। प्रदेशसभाका १ सय ७ सांसदमध्ये बैठकमा उपस्थित एक सय सांसद मतदानमा सहभागी थिए। सभामुख तटस्थ बसेका थिए भने ६ सदस्य अनुपस्थित भए।

बहुमतसिद्ध गर्नका लागि सरकारलाई ५४ मत आवश्यक थियो। तर सरकारको पक्षमा ८२ मत आयो भने विपक्षमा कांग्रेसका १८ सांसदले मतदान गरे। कांग्रेसका १९ सदस्य भए पनि पर्साबाट निर्वाचित ओमप्रकाश शर्मा अनुपस्थित भएका थिए।

प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव राख्दै मुख्यमन्त्री राउतले प्रदेशको समृद्धि, विकास र उन्नतिका लागि पक्ष÷विपक्ष छाडेर एकजुट हुन आग्रह गरेका थिए। ‘म राजनीतिमा नयाँ छु, राज्य सञ्चालनको तालिम पाएको छैन, पारिवारिक पृष्ठभूमि पनि राजनीतिक छैन’, बैठकमा उनले भने, ‘त्यसैले प्रदेश सरकारलाई सक्षम बनाउन तपाईंहरू सबैको सहयोगको अपेक्षा गर्छु।’ –अन्नपूर्णपोस्ट दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार