किन बढ्दैछ स्वैच्छिक अवकाश ? प्रदेशमा कर्मचारीको हाहाकार

काठमाडौं, १५ फागुन – सामान्य प्रशासन मन्त्रालयले स्वैच्छिक अवकाशमा जाने कर्मचारीहरूका लागि करिब १५ अर्ब खर्च हुने अनुमान गरेको छ । सोमबारसम्म देशभरका कार्यालयबाट कुल ४४ सय ६२ जनाले स्वैच्छिक अवकाशका लागि निवेदन दिएको सामान्य प्रशासन मन्त्रालयको स्वैच्छिक अवकाश एकाइका उपसचिव धर्मराज रोकायले बताए ।

स्वैच्छिक अवकाशका लागि दर्ता भएका निवेदन संकलन जारी छ । १९ फागुनसम्म संकलन गर्ने समय रहेकाले अवकाश रोज्नेको संख्या बढ्न सक्ने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । स्वैच्छिक अवकाश रोज्नेको संख्या करिब पाँच हजार पुग्ने अनुमान मन्त्रालयको छ । यो आधारमा उनीहरूका लागि करिब १५ अर्ब खर्च गर्नुपर्ने हिसाब निकालिएको हो ।

मन्त्रालयका अनुसार स्वैच्छिक अवकाशका लागि तीनजना सचिवले निवेदन दिएका छन् । भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव शम्भु कोइराला तथा संसद् सेवातर्फका सचिवद्वय हिमलाल सुवेदी र वीरेन्द्रबहादुर कार्की छन् । संघीयतामा जान नचाहने कर्मचारीका लागि ल्याएको अवकाशको प्याकेजको दुरुपयोग गर्दै अनिवार्य अवकाश पाउने अवस्थामा रहेका उनीहरूले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका हुन् ।

१४ जना सहसचिवले पनि स्वैच्छिक अवकाशका लागि निवेदन दिएका छन् । उनीहरूमध्ये चारजना भर्खरै मात्र वरिष्ठताका आधारमा उपसचिवबाट सहसचिवमा बढुवा भएका थिए । चतुर्भुज ज्ञवाली, कृष्ण मुरारी न्यौपाने, भरत ढुंगाना र राजेश्वर पौडेल अवकाश रोज्ने सहसचिव हुन् । अरू पनि स्वतः अवकाश पाउने समय थोरै बाँकी भएकाहरू छन् ।

मन्त्रालयले स्वैच्छिक अवकाशका लागि निवेदन दिनेहरूमा उपसचिवतर्फ करिब ४५ जना रहेको जनाएको छ । मन्त्रालयले स्वैच्छिक अवकाशका लागि निवेदन दिनेहरूमध्ये करिब ८० प्रतिशत राजपत्र अनंकित सुब्बा, खरदार, कार्यालय सहयोगी र सवारीचालक रहेको जनाएको छ । – नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार