माओवादीलाई सभामुख छान्न सकस, आधा दर्जन नेता आकांक्षी

काठमाडौं, २४ फागुन – नेकपा माओवादी केन्द्रलाई सभामुखको उम्मेदवार छनोट गर्न सकस परेको छ । पार्टीभित्र आधा दर्जन नेताले सभामुख बन्न इच्छा देखाउँदै लबिङसमेत थालेका छन् ।आकांक्षी धेरै भएसँगै सभामुख छनोट र नेताहरूको व्यवस्थापन गर्न माओवादीलाई अप्ठ्यारो परेको हो । केही समयअगाडि गृहमन्त्री चयन गर्न ठूलो सकसमा फसेको माओवादी केन्द्रलाई सभामुख उम्मेदवार चयन गर्न पनि उस्तै हम्मे परेको हो ।

शनिबार बस्ने संघीय संसद्को बैठकले प्रतिनिधिसभाको सभामुख चयन गर्नेछ । एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति र सभामुख एकएक पार्टीले बाँडफाँट गरेकाले सभामुख माओवादीको भागमा परेको छ । गठबन्धनका कारण वाम गठबन्धनका उम्मेदवार नै सभामुख बन्ने निश्चितजस्तै छ ।

माओवादी नेता कृष्णबहादुर महराले सभामुखका लागि दाबी गर्दै आएका छन् । उनले सभामुख बन्न लबिङलाई समेत तीव्र बनाएर लगेका छन् । निवर्तमान सभामुख ओनसरी घर्तीले पनि दोहोरिने इच्छा देखाएकी छन् । उनले पूरा कार्यकाल पदमा बस्न नपाएको भन्दै पुनः दोहोरिने इच्छा प्रकट गरेकी छन् ।

एमालेले राष्ट्रपतिमा पुनः विद्यादेवी भण्डारीलाई नै दोहो¥याउने निर्णय गरेसँगै घर्तीले पनि आफ्नो दाबीलाई अझै बढाउने देखिएको छ । नेता महराले सभामुखका लागि लबिङ गरिरहेका बेला घर्तीलाई सभामुख बनाउन उनका श्रीमान् वर्षमान पुन पनि चर्को लबिङमा छन् ।

माओवादी सचिवालय सदस्य गिरिराजमणी पोखरेलले पनि इच्छा देखाएका छन् । पार्टी वरिष्ठ नेता नारायणकाजी समूहका पोखरेलले मन्त्रीभन्दा पनि सभामुखमा बढी चासो देखाएको बताइएको छ । तर, पार्टीले उनलाई सरकारमा पठाउने तयारीसमेत गरिरहेको स्रोत बताउँछ ।

अर्का पार्टी सचिवालय सदस्य देव गुरुङले पनि सभामुखमा दाबी गरेका छन् । कानुनका ज्ञाता मानिने गुरुङको दाबीसमेत महत्वपूर्ण रहेको पार्टीभित्र चर्चा छ । एकताबाट रामबहादुर थापा नेतृत्वमा आउनेमा थापा मात्रै मन्त्री हुने अवस्थामा एकताको भावनालाई समेट्न गुरुङलाई सभामुख बनाउने सम्भावना छ । पार्टी विभाजनअघि गुरुङ सचिव पदमा थिए ।

पार्टी सचिवालय सदस्य अग्नि सापकोटा, लेखराज भट्टले पनि सभामुखको दाबी गर्दै आएका छन् । एक नेताका अनुसार महरा, गुरुङ र घर्तीमध्ये एक जनासभामुख हुनेछन् ।पार्टी प्रवक्ता पम्फा भुसालले आजभोलि नै पार्टीको बैठक बसेर सभामुख उम्मेदवार छनोट गर्ने बताइन् ।

पार्टी सचिवालय सदस्य देवेन्द्र पौडेलले सभामुख चयनका लागि सुझाव लिने र अनौपचारिक रूपमा छलफल समेत भइरहेको जानकारी दिए । मर्यादाक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशपछि सभामुख रहने हुँदा पनि यसलाई उपल्लो मर्यादाक्रमको जिम्मेवारीको पद मानिन्छ ।- राजधानी दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार