निकम्मा बन्यो ‘रअ’को नेपाल स्टेशन, लैनचौरमा ठूलो परिवर्तन गर्ने तयारी

काठमाडौं, २४ फागुन – नेपालमा बढ्दो चिनियाँ गतिविधिबाट भारत चिन्तित हुन थालेको छ । चिनियाँ गतिविधि रोक्न असफल भएको भन्दै नेपालस्थित भारतीय राजदूत मञ्जिभसिंह पुरी र भारतीय गुप्तचर संस्था ‘रअ’का नेपाल स्टेशन प्रमुख अभिजित हल्दरको आलोचना भएको छ ।

भारतको दुश्मन पाकिस्तानका प्रधानमन्त्री सहिद खकान अब्बासीको नेपाल भ्रमणले त झन् नयाँ दिल्लीमा भूकम्प नै गएको छ । पाकिस्तानी प्रधानमन्त्री अब्बासीले दुई दिन काठमाडौंमा विताउँदा नयाँदिल्लीमा त्यसकै चर्चा भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अब्बासीको दुई दिने नेपाल भ्रमणका बारेमा ‘रअ’ले समेत पूर्व सूचना नपाएको उच्च स्रोतको भनाई छ । अब्बासीको भ्रमणको कार्यतालिका अत्यन्तै गोप्य राखिएको थियो । त्यसकारण ‘रअ’ले त्यसबारे कुनै सुईको समेत थाहा नपाएको लैनचौरस्थित भारतीय राजदूतावास उच्च स्रोतले जनाएको छ ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपाल भ्रमणमा आउन लालेको थाहा पाएको भए भारतले कुनै पनि हालतमा रोक्ने थियो । चीनको दवावमा काठमाडौं आएका अब्बासीले कम्युनिष्ट नेताहरूलाई मात्रै भेटेर झन् सबैलाई चकित तुल्याइदिएका छन् । केही समयभित्र चिनियाँ राष्ट्रपति पनि नेपाल आउने चर्चा हुन थालेको छ ।

नेपाल नीतिबारे भारत असफल हुन थालेपछि भारतीय राजदूत मञ्जिभसिंह पुरीलाई सोमबार दिल्ली बोलाइएको थियो । दिल्ली बोलाएर राजदूत पुरीसँग स्पष्टिकरण लिइएको स्रोतको भनाई छ । पुरीलाई मात्रै होइन ‘रअ’का नेपाल स्टेशन प्रमुख अभिजित हल्दरको पनि आलोचना भएको छ ।

‘रअ’ले विभिन्न राजनीतिक दल, संघ संस्था र व्यक्तिलाई एजेण्ट बनाएर करोडौं रुपियाँ खर्च गरेको छ । तर, त्यो खर्च र लगानी अनुसारको काम हुन नसकेपछि ‘रअ’को मुख्यालयले नेपालको सबै सेट परिवर्तन गर्ने योजना बनाएको स्रोतको दावी छ ।

विशेष गरेर नेपालको राजनीतिमा चीनले प्रत्यक्ष रुपमा हात होलेपछि भारतलाई हरेक ठाउँमा धोका हुँदै आएको छ । भारतका लागि काम गर्ने नेता, संघ संस्थाका प्रतिनिधिहरूले अहिले चीनका लागि काम गर्न थालेको आरोप छ । – यूनाइटेड पोष्ट साप्ताहिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार